रामतुलसी नमुना माबिले मनायो ५७ औ वार्षिकोत्सव, ११ करोड ९ लाख बढीको कारोबार, २७ सय बिद्यार्थी अध्ययनरत
पाल्पा ।
पाल्पाको नमुना बिद्यालय रामतुलसी मा.बि.ले स्थापनाको ५७ औं बार्षिकउत्सब समारोह सोमबार सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग एंव पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले मानवमा चेतनाको विकास हुनु प्रमुख कुरा रहेको र चेतनाको विकास शिक्षाले मात्र गर्ने बताउनुभयो ।

सोही विद्यालयमा अध्ययन गर्नुभएका श्रेष्ठले कहिले टिनको छानो भएको कोठा त कहिले खुल्ला चौरमा पढेको स्मरण गर्दै प्रविधिको विकास सँगै विद्यालयले फड्को मार्न सफल भएको बताउनुभयो । प्रविधि जान्नुपर्छ भन्ने बित्तिकै मोबाईलमा मात्रै झुण्डिने प्रबृत्ति प्रति सजग रहन अनुरोध गर्दै उहाँले अबको शिक्षा घरमा आमा र परिवारका सदस्यले सँगै बस्न, खान र सिक्न लगाउनुपर्ने बताउनुभयो । प्राविधिक धारको शिक्षा अपरिहार्य छ उहाँले भन्नुभयो-पढ्नलाई शिक्षा होइन जिवन जिउने स्वरोजगार बनाउने शिक्षा चाहिन्छ । पुर्वी पाल्पाकै हाइस्कुलको रुपमा रहेको विद्यालय स्थापनामा स्थानीय दजनौं दिवंगत संस्थापकको मुख्य देन रहेको बताउदै नाम उद्घोष गर्नुभएका श्रेष्ठले विद्यालय यहाँसम्म ल्याउन आफुले पनि सक्दो सहयोग गरिरहेको बताउनुभयो । प्रदेश सभा सदस्य भएपछि गतबर्ष यस बर्ष १०/१० लाख सहयोग गरेको बताउदै आगामी बर्ष शिक्षा सभाहल निर्माणका लागि आफुले प्रदेश सरकारसमक्ष माग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक देवराज ढकालले बडो संघर्षबाट स्कुल खोलेको र आफुले पढाएको स्मरण गर्नुभयो । रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले विद्यालयको प्रगति र यसको सिको सबैले गर्नुपर्नेमा जोड दिनुभयो । पुर्व सञ्चालक समिति सदस्य कमलराज भट्टराई, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल र किर्तिनाथ श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गादेवी राना, शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेल, विद्यार्थी सम्झना रायमाझी र कृष्ण दर्जी लगायतले बोल्दै विद्यालयको गरिमा कायम राख्दै शैक्षिण गुणस्तर र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, बिमल श्रेष्ठ र हिमाल मल्ललाई सम्मान गरिएको छ । साथै विद्यालयले उत्कृष्ट शिक्षक सम्झना घिमिरे, विनिता भट्टराई, रमेश अधिकारी, सन्तोष चौधरी, विष्णुमाया पौडेल, दुर्गादेवी शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्य राना, र कर्मचारी निरज श्रेष्ठलाई उत्कृष्ट शिक्षक तथा कर्मचारीको रूपमा करुवा र सम्मानपत्रले सम्मान गरेको छ । शिक्षक अभिभावक संघ अध्यक्ष महेशकुमार पौडेलले स्थापनादेखि (एसइइ) मा नेपाली माध्यमबाट ए प्लस सहितको उत्कृष्ट अंक ल्याउने छात्रा मनिषा आलेलाई प्रोत्साहन स्वरुप नगद २ हजार १ सय र सम्मान पत्रले पुरस्कृत गर्नुभयो ।

बार्षिकउत्सवको अबसरमा पूर्व विद्यार्थी विकास, विबेक र बिजय पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको नाममा आमा लक्ष्मीदेवी पौडेल संरक्षक रहेको ३३ हजार ३ सय ३३ रुपँयाको उमाकान्त स्मृति अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । विद्यालयमा ३६ वटा विभिन्न अक्षयकोष रहेको छ । यसबर्ष ६ वटा अक्षयकोष स्थापना भएको छ । आफ्ना परिवारका सदस्यको सम्मान र स्मृतिमा अक्षयकोष राखेको विद्यालयले जनाएको छ । यसबर्ष गुहेश्वरी कडेंल ढुंगाना सम्मान छात्रबृत्ति कोष र झमन थापा ढेंगा स्मृति अक्षयकोष, उर्मिला भण्डारी स्मृति अक्षयकोष, चुत्रकला लम्साल स्मृति अक्षयकोष, ज्ञानेश्वर लोकनाथ पोखरेल स्मृति असहाय विद्यार्थी कोष र तारानाथ तिवारी डिल्लीमाँया तिवारी स्मृति अक्षयकोष स्थापना भएको हो । विद्यालयले अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान सहित धन्यवाद प्रदान गरेको छ ।
प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल २६ सय ४९ विद्यार्थी अध्ययनरत, ४१ जना सरकारी, ८४ जना निजी स्तरमा गरी १२५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो । ११३ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा १११ वटा कक्षाकोठा, ३ वटा स्कुल बसद्धारा सेवा, अत्याधुनिक प्रविधिमैत्री कक्षा, कृषि तथा बिज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, खेलमैदान, पुस्तकालय, खानेपानी, बालउद्यान सहितको सेवा दिइरहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विभिन्न व्यक्तित्वको सहयोगमा विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषको करिव ३२ लाख बराबरको रकम रहेको र बार्षिक रुपमा झण्डै १ सय विद्यार्थी पुरस्कृत हुने गरेको बताउनुभयो । विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७ सय २४ रुपैयाँ ६३ पैसा बराबरको आयव्याय सहितको प्रतिवेदन प्रस्तुत गर्नुुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा सहायक प्रधानाध्यापक पुणर्चन्द्र घिमिरेले स्वागत र विद्यालय व्यवस्थापन समिति सदस्य विशाल श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।
विद्यालयगत बौद्धिक तथा शारिरीक प्रतिस्पर्धात्मक क्रियाकलाप सहित भएको बार्षिकउत्सव कार्यक्रममा विद्यार्थीले मारुनी, सालैजो, तामाङसेलो, कौरा सहित रमाइलो साँस्कृतिक प्रस्तुति देखाएका थिए । यसबर्ष विद्यालयले खाना महोत्सवको आयोजना गरेको थियो । जहाँ सोमवार कक्षा ११ र १२ का विद्यार्थीले विद्यालय प्राङ्गणमा मासुको भुटन देखि विभिन्न थरिका खाना र आइतबार ६ देखि १० सम्मका विद्यार्थीले २६ किसिमका खानाका परिकार राखेका थिए । कृषि तथा विज्ञानका बिद्यार्थीले कृषि उत्पादन र बिज्ञानका समाग्री प्रद्र्धशन गरेका थिए ।

