उत्पादित बस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी कार्यशाला अर्घाखाँचीमा सम्पन्न
अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले उत्पादित बस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री प्रयोगमा मानिसको स्वास्थ्यमा प्रतिकुल असर नगर्ने खालको उत्पादन गर्नुपर्ने बताउनुभएको छ । नगर प्रमुख श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री उपभोक्ताको मनोभावना अनुसार र सहज बजारीकरण गर्न आग्रह गर्नुभयो ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बजारमा देखिएका बेतिथिहरुको अन्त्य गर्न र उपभोक्ताको स्वास्थ्यप्रति उद्योगी व्यवसायी जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योगमा उत्पादन गरिने सामग्रीको प्याकेजिङ, लेबलिङ गर्ने तरिका, उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानूनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियम र गुणस्तर मापन लगायतका बिषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कपिलबस्तुका खाद्य निरिक्षक सरोज खनालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अर्घाखाँची जिल्लामा रहेका उद्योगीका समस्या तिनले पालना गर्नुपर्ने दायित्व लगायतको बारेमा कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्का, पत्रकार महासघका कोषाध्यक्ष रुद्रमणि भुसालले उत्पादित बस्तु र प्रयोगका बिषयमा भनाई राख्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमसेन बोहोरा, उद्योग बाणिज्य संघ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासघ लगायतका साझेदारी संस्था उद्योगी तथा व्यबसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरेलु तथा सतथ्याङ्ग सहायक बिष्णुमाया सुनारको स्वागत मन्तब्य र कम्युटर अपरेटर हुम बहादुर वि.क.को संचालनमा कार्यक्रम भएको हो ।