“लैङ्गिक समानताका लागि घण्टी बजाऔं” युएन विमेनले महिला नेतृत्व र वित्तीय समावेशीकरणको अभियान थाल्यो
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज व्यवसायिक क्षेत्रमा महिलाहरूको स्थिति र अवसर सुधारको प्रतीक स्वरूप सांकेतिक घण्टी बजाइयो। यो कार्यक्रम युएन विमेन (UN Women), नेप्से, अन्तर्राष्ट्रिय वित्त निगम (IFC) र ग्लोबल कम्प्याक्ट नेपाल (GCN) को संयुक्त पहलमा आयोजित “Ring the Bell for Gender Equality” अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रमले “Women. Leadership. Action. For Just and Prosperous Economies” भन्ने नारालाई अघि राख्दै लैङ्गिक समानता र आर्थिक समावेशीताको महत्व उजागर गर्यो। कार्यक्रममा नेप्सेमा सुचीकृत कम्पनीहरू, सरकारी नियामक संस्था, UN Women र UN Global Compact का महिला सशक्तिकरण सिद्धान्त (WEPs) का हस्ताक्षरकर्ता संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

नेपालमा यस कार्यक्रमको यो छैटौँ संस्करण हो। विश्वव्यापी रूपमा ११५ भन्दा बढी स्टक एक्सचेञ्जहरूले कार्यस्थल, बजारव्यवसाय र समुदायमा महिलाको सशक्तिकरण प्रवर्द्धन गर्न घण्टी बजाउने अभियान सञ्चालन गर्दै आएका छन्। यस वर्षको संस्करणले “Gender-Smart Finance” अवधारणालाई पनि अघि बढाएको छ, जसले महिलाको वित्तीय पहुँच र नेतृत्व क्षमता विस्तारमा केन्द्रित छ।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहिया ले उद्घाटन मन्तव्यमा निजी क्षेत्रको भूमिका र दीर्घकालीन साझा मञ्चको आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो- घण्टी बजाउने पहल केवल वार्षिक समारोहमा सीमित हुनु हुँदैन, यसले सरकार, निजी क्षेत्र र वित्तीय संस्थाहरूलाई महिलाको आर्थिक सशक्तिकरणमा निरन्तर काम गर्न प्रेरित गर्नुपर्छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले नेप्सेमा महिलाको सहभागिता लगभग ४०% भए तापनि नेतृत्व र बोर्ड संरचनामा अझै ठूलो लैङ्गिक खाडल रहेको औँल्याउनुभयो। उहाँले थप्नुभयो- समावेशीकरण स्थिर बजारको मुटु हो र जब महिलाहरू नेतृत्व गर्छन्, राष्ट्र समृद्ध हुन्छ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आफ्नो बैंकले WEPs कार्यान्वयनमा देखाएका उत्कृष्ट पहल र चुनौतीहरू साझा गर्दै अन्य निजी क्षेत्रका संस्थाहरूलाई पनि यस पहलमा सहकार्य गर्न आह्वान गर्नुभयो। उहाँले सिद्धान्त मात्र होइन, व्यवहारमा पनि लैङ्गिक समावेशीकरण सुनिश्चित गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा “निजी क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्न WEPs को प्रयोग” विषयमा छोटो सत्र पनि संचालन गरिएको थियो। यसमा UN Women का प्रतिनिधि प्याट्रिसिया फर्नान्डिज पाचे ले महिलाहरूलाई वित्तीय पहुँचबाट वञ्चित गरिँदा अर्थतन्त्रले घाटा व्यहोर्नु पर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “वित्तीय खाडल घटाउनु केवल समानताको कुरा होइन, यो बुद्धिमान अर्थतन्त्रको नीतिसमेत हो। त्यसैले लैङ्गिक उत्तरदायी आर्थिक प्रणालीमा सबैले लगानी गर्नुपर्छ।”
सत्रमा WEPs मा आबद्ध संस्थाहरूका प्रतिनिधिहरू आरजू जोशी (एफ वान सफ्ट इंटरनेशनल) र डा. मनीष थापा (ग्लोबल इक्विटी फण्ड) ले आफ्ना अनुभव र उपलब्धिहरू साझा गर्नुभयो। त्यस्तै, नयाँ आबद्ध संस्थाहरू युटर्न नेपाल र होटल हिमालयका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रमको प्यानल छलफलमा महिला नेतृत्वका व्यवसायका लागि मिश्रित वित्त प्रणाली (Blended Finance for Women-Led Businesses) को अवसर र चुनौतीहरूको विषयमा विचार-विमर्श भएको थियो। यसमा मनोज पौडेल, सेसिल रिभिएर, सुष्मा शर्मा, र मिना पाण्डे सहभागी थिए। प्यानलमा महिलाहरूको नेतृत्व क्षमता र वित्तीय पहुँच विस्तारमा आवश्यक संरचना र अवसरबारे गहिरो छलफल भएको थियो।
समापन मन्तव्यमा युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले महिलाको आर्थिक सशक्तिकरण केवल सामाजिक न्याय मात्र नभई व्यवसायिक र राष्ट्रिय आर्थिक वृद्धिका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। कार्यक्रमको औपचारिक समापन ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष समिर थापाले गर्नुभएको थियो।
यस कार्यक्रमले साना र मझौला उद्योगमा वित्तीय पहुँच विस्तार, व्यवसायिक संरचनामा महिलालाई समान अवसर सुनिश्चित गर्ने, महिला नेतृत्व र वित्तीय पहुँच प्रवर्द्धन गर्ने तथा सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्ने दिशामा कदम अघि बढाएको छ।