नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी सम्मानित
पाल्पा ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी उषा भण्डारीलाई रामपुर नगरपालिकाले स्वागत सहित सम्मान गरेको छ । रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले उहाँलाई सम्मान गरेको हो ।
राष्ट्रिय टोलीकी स्पाइकर भण्डारीलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बाल कुमारी थापा, नगर खेलकुद विकास समितका अध्यक्ष कमल सेन सहित समितिका सदस्यहरुले स्वागत सहित सम्मान गरेका हुन् । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद र खेलाडीले नेपाल र नेपालीलाई विश्व माझ चिनाउने बताउनुभयो । खेलाडीहरु देशको गौरव र पहिचान भएपनि राज्यले सेवा सुविधा दिन नसक्नु दु:खद पक्ष रहेको उहाँको भनाई थियो । नगर प्रमुख थापाले खेल क्षेत्रको विकासका लागि खेलाडीलाई उचित सम्मान र प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारीले तनहुँमा जन्मिए पनि पाल्पा संग पारिवारिक सम्बन्ध भएको र खेलाडीको रुपमा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । साथै आफु रामपुरमा खेल खेल्न इच्छुक रहेको भन्दै अनुकुलतामा आउने प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले रामपुरमा हुने विभिन्न खेलकुद राष्ट्रिय स्तरका खेलाडीको आगमनले नयाँ खेलाडीहरुलाई प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले खेलकुद र यसको पूर्वाधार निर्माणमा उदहारणीय काम गरेको भन्दै खेलकुदको विकासका लागि नीतिगत व्यवस्था गरेर अगाडी बढ्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले गर्नुभएको थियो ।