वडाले महिलालाई दियो मादल बजाउने तालिम
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ७ का महिलालाई मादल बजाउन सिकाईएको छ । मौलिक कलाको संरक्षण र गाउँघरमा मादल बजाउनेको अभाव खड्किदै गएपछि वडाले मादल बजाउने सीप सिकाएको हो ।
पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि दिगो संरक्षणका लागि महिलाहरुलाई तालिम दिइएको वडा अध्यक्ष दोबराज तिवारीले बताउनुभयो । वडाका सबै टोलबाट महिलाको प्रतिनिधित्व हुने माघ २२ गतेदेखि चलेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सीप सिकेपछि गाउँघरमा हुने कार्यक्रम, भजनकृतन, बिहे रत्यौली तथा बनभोजका कार्यक्रममा पुरुषको नै भरपर्नु पर्ने अबस्था रहदैन । पछिल्लो समय युवाहरु विदेश जाने या शहर पढ्न जाने हुदाँ गाउँघरमा महिलाले गर्न सक्छन् भन्ने ध्ययले तालिम चलाइएको हो ।
तालिममा वडाभित्रका विभिन्न टोल,वस्तीमा रहेका महिला र आमा समुहका गरि ३६ जनाको सहभागिता रहेको छ । पछिल्लो समय मौलिक कला संस्कृतिको लोप हुनथालेको भन्दै वडा कार्यालय संस्कृति संरक्षणमा जुटेको वडाध्यक्ष तिवारीले बताउनुभयो ।
गाउँघरमा हुने भजन किर्तनमा मादल बजाउनेको अभाब हुने र सिप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पूग्ने स्थानीय मुक्ति भट्टराईले बताउनुभयो । तालिममा मादल बजाउने सीपका मादलका ताल बारेमा कलाकार तथा बाद्यबादक हुम बि.सीले ज्ञान सिप सिकाउनुभएको छ ।