तानसेनमा साइक्लिङ् प्रतियाेगितामा प्रथम भए निश्चल र सेते
पाल्पा ।
रानीमहलदेखि तानसेनस्थित पाल्पा दरबार संग्रहालयसम्म सम्पदादेखि सम्पदा उकालो साइक्लिङ् चुनौती प्रतियोगितामा निश्चल नेपाली प्रथम भएका छन् ।
४५ वर्षमुनि र ४५ वर्ष माथिका प्रतियोगिलाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो । १६ वर्षदेखि ४५ वर्ष उमेर समूहमा रुपन्देही बुटवलका निश्चल नेपाली पहिलो भए । १२ जना प्रतियोगिलाई पछि पार्दै नेपालीले १५ किलोमिटर साइकलयात्रा १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गर्नुभएकाे थियाे । दोस्रो भएका रुपन्देहीकै निरज चौधरीले १ घण्टा ७ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्नुभयाे । पाल्पा तानसेन बारुदखानका दिलीप जीसीले १ घण्टा १७ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको पाल्पा जिल्ला साइक्लिङ् संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारका साथै मेडल, प्रमाणपत्र मायाको चिनो प्रदान गरियो । ४५ वर्ष उमेर समूह पूरा गरेकाहरुबाट पाल्पा तानसेनका सेते लामा तामाङ् पहिलो हुनुभयो। १३ प्रतियोगिलाई पछि पार्दै उहाँले १ घण्टा १९ मिनेटमा निर्धारित दुरी पार गर्नुभएकाे हाे । दोस्रो रुपन्देही बुटवलका नारायण श्रेष्ठले १ घण्टा २१ मिनेट २६ सेकेण्ड लगाउनुभयाे भने पाल्पाकै कृष्ण बहादुर सिंजालीले १ घण्टा २५ मिनेट ५६ सेकेण्डमा दुरी पूरा गरेको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताउनुभयाे ।
प्रतियोगितामा सबैभन्दा कम उमेरका रुपन्देहीका १६ वर्षीय निरज चौधरी र सबैभन्दा धेरै उमेर ५४ वर्षय जनक लाल राना सहभागी हुनुभयाे । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक पाल्पा जिल्ला साइक्लिङ् संघका अध्यक्ष रुपेश महर्जनले बताउनुभयाे । प्रतियोगिता आयोजना गर्न पाल्पा जिल्ला साइक्लिङ् संघलाई तानसेन पर्यटन समिति (ट्याक्ट) का साथै विभिन्न सहयोगी संघसंस्था फर्मले सहयोग गर्नुभएकाे थियाे ।
प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, संघका अध्यक्ष रुपेश महर्जन, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, लुम्बिनी खेलकुद परिषद् सदस्य राजु महर्जन, तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जन लगायतले नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।