रामपुर ५ ले दियो महिलाहरुलाई अधिकार र सचेतना तालिम
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सञ्चालनमा भएको महिला अधिकार तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रामपुर नगरपालिका वडा नम्बर ५ को सहयोगमा महिला समन्वय समितिको आयोजनामा भएको तालिममा सहभागीलाई संवैधानिक अधिकार, कानुनी व्यवस्था तथा लैङ्गिक र महिला हिंसासम्बन्धी विषयमा सचेतना दिइएको हो ।

तालिममा नेपालको संविधान २०७२ मा महिलाका लागि सुनिश्चित गरिएका अधिकार, समानता, न्यायमा पहुँच, घरेलु तथा लैङ्गिक हिंसाका प्रकार, त्यसबाट बच्ने उपाय तथा उजुरी प्रक्रिया लगायतका विषयमा सहभागीलाई जानकारी गराइएको हो ।
तालिममा रामपुर नगरपालिका वडा नम्बर ५ भित्र रहेका २५ महिला समूहका प्रतिनिधि तथा वडाका प्रतिनिधिमूलक ६५ महिलाले सहभागिता जनाएका थिए । सहभागी पार्वती न्यौपाने र नारायणी तिवारीले तालिम अत्यन्त उपयोगी भएको बताएका छन् ।
तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य सीता डोटेल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल तथा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले सहजीकरण गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले महिलाहरू कानुनी रूपमा सचेत भएमा समाजमा हुने हिंसा, अन्याय र विभेद न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला आफैं आफ्नो अधिकारबारे जानकार र सचेत भएमा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । त्यसका लागि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्न आवश्यक छ ।” उहाँले बिगतमा पनि वडाले महिलाका लागि विभिन्न तालिम आयोजना गरेको बताउनुभयो ।

वडा सदस्य तथा कार्यपालिका सदस्य माया नेपालीले महिलाको सशक्तीकरण बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले महिलाले पाउने अधिकार व्यवहारमा लागू हुन सके मात्र वास्तविक समाज परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो ।
महिला समन्वय समितिका अध्यक्ष सरस्वती सोमैको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष चलकुमारी थापाले धन्यवाद व्यक्त गर्नुभएको थियो भने महिला समन्वय समितिका वडा सचिव बिन्दु श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो ।
