पाल्पाको तानसेनबाट वैदेशिक रोजगारी गएर मृत्यु भएका परिवारका सन्ततीलाई नगरपालिकाले शैक्षिक सामग्री बितरण गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा तानसेन नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ९ परिवारका ११ जना सन्ततीलाई शैक्षिक सामग्री वितरण गरेको हो । तानसेन नगरक्षेत्रका छात्रछात्रालाई विद्यालय जाँदा बोक्ने झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।
तानसेन नगरपालिका १ का सबिन घर्ती र सन्देश घर्ती, इस्मान सारू, आयुस सुनार, वडा नं. ९ का रोहित मश्राङ्गी, अनमोल भट्टराई, वडा नं. ५ का शुभम खत्री र सोनिका खत्री, वडा नं. ६ का स्वागत खत्री, वडा नं. १० का दिप्सा नेपाली र सुमोना घिमिरेलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
उनीहरूलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिँजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शैक्षिक सामग्री वितरण गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले तानसेन नगरपालिका सधैँ नगरका बासिन्दाप्रति संवेदनशील रहेको बताउदै वैदेशिक रोजगारीमा समस्या परेकालाई समन्वय तथा सहयोग गर्न सामी कार्यक्रम लागू गरिएको बताउनुभयो । कार्यक्रम तानसेन नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ बाट सुरु भएको हो ।
तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिँजालीले वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता बनेको बताउनुभयो । उहाँले यसलाई सुरक्षित, मर्यादित र सीपमूलक बनाउनुपर्नेमा जोड दिदै असुरक्षित यात्रा, ठगी, श्रम शोषण र अकालमै ज्यान गुमाउने घटनाहरू दुःखद् भएको बताउनुभयो ।
सामी कार्यक्रम अन्तर्गत सूचना तथा परामर्श सेवा, कानुनी परामर्श तथा कानुनी सहजीकरण, मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यक्रम अधिकृत दिनेश घिमिरेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा प्रदान गरिँदै आएको छ ।
स्थापना भएयता हालसम्म १४ हजार १५६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा दिइएको छ । ६२ वटा कानुनी सहजीकरण भएका छन् । जसअन्तर्गत स्वदेश तथा विदेशमा हुने ठगी, अलपत्र परेकाको उद्धार तथा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारसँग सहजीकरण गर्दै आएको छ । ३९ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको घिमिरेले बताउनुभयो ।