पाकापुस्ताको ज्ञान सिप पुस्तान्तरणका लागि रामघाटधाममा नगरपालिकाले सञ्चालनमा ल्यायो “जेष्ठ नागरिक स्कुल”
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले जेष्ठ नागरिकको अनुभव र सिकाई पछिल्लो पुस्तामा हस्तान्तरणका लागि रामघाटधाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ ।
पछिल्लो समय जेष्ठ नागरिकको घुलमिल कम हुनु र पछिल्लो पुस्ताले पाका अनुभवले खारिएका जेष्ठ नागरिकको ज्ञान सीप सिक्ने सिकाउने उद्देश्यले स्कुल स्थापना गरेको हो । रामपुर नगरपालिका –५ रामघाटधाममा जेष्ठ नागरिक स्कुल, ज्ञान केन्द्र, स्कुल बस सञ्चालनमा ल्याईएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिकहरुको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरुलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण ब जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको बताउनुभयो । रोजगारीको शिलशिलामा सन्तानहरु परदेशमा हुँदा जेष्ठ नागरिकमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरुमा खुशी ल्याउन जेष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको बताउनुभयो । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देश मै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताउनुभयो । जेष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नयाँ पुस्ता पाठ्यपुस्तकको ज्ञान प्राप्त गरे पनि व्यवहारिक र संस्कारयुक्त शिक्षा बाट बञ्चित भैरहेको बताउनुभयो ।

जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभैरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । स्कुल सञ्चालनमा सबैको साथ र सहयोग महत्वपूर्ण रहने बताउनुभयो । रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले जेष्ठ नागरिक खुशी बनाउन नगरपालिकाले चालेको कदमको प्रसंशा गर्नु भएको थियो । नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराईले जेष्ठ नागरिक स्कुल देश कै नमुनाको रुपमा स्थापना भएको बताउँदै उद्देश्य प्राप्तिको शुभकामना दिनुभयो । नेपाली कम्युनिष्ट पार्टी नेकपा रामपुर कार्यदलका सदस्य कमल सेनले निरस जीवन विताई रहनु भएका जेष्ठ नागरिकहरुको लागि नगरपालिकाले महत्वपूर्णकार्यगरेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यष राम प्रसाद गैरेले यस किसिमको अभ्यास देशै भर हुनु आवश्यक रहेको बताउनुभयो ।
जेष्ठ नागरिक स्कुलका लागि आवश्यक भौतिक संरचना निर्माणमा सङ्घ, प्रदेश, स्थानीय सरकार एक करोड २६ लाख भन्दा बढी खर्च भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेकोमा सम्मान गरिएको छ । जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको छ । साथै परम्परागत सामग्रीहरु ढिँकी, जाँतो समेत निर्माण गरिएको छ । जेष्ठ नागरिक स्कुलमा तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले नाम दर्ता गरिसक्नु भएको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।
स्कुल भित्र जेष्ठ नागरिकहरुलाई प्रवचन सुन्ने, भजन कृतन गर्ने, शारीरिक व्यायम, थेरापी, स्वास्थ्य परीक्षण, दिवा खाजाको समेत व्यवस्था गरिएको छ । साथै साँझमा सन्ध्या आरती समेत हुनेछ । जेष्ठ नागरिकहरुलाई आउन र जानका लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा दार्शनिक गुरु योगी विकाशानन्दले जीवन र सुखी जिवनयापन बिषयमा प्रवचन समेत दिनु भएको थियो । साथै दार्शनिक गुरु योगी विकाशानन्दले रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्मिक ३ दिने प्रबचन दिनुहुनेछ ।











