भम्बक युनाईटेड कपको उपाधी एनवाईसी नरेठाँटी गल्कोटलाई, आयोजक उपबिजेता
पाल्पा ।
पाल्पा रामपुरको भम्बकमा जारी दोस्रो भम्बक युनाईटेड कपको उपाधी एनवाईसी नरेठाँटी गल्कोट बागलुङले जितेको छ । फाइनल खेलमा आयोजक भम्बक युनाईटेड क्लवलाई सोझो सेटमा हराउँदै एनवाईसी नरेठाँटी बागलुङले उपाधी उचालेको हो ।

क्लवको ११ औं साधारण सभाको अबसरमा आयोजित क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा आयोजकलाई २५-२२, २५-१३ र २५-२० अंक सहित एनवाईसी नरेठाँटी गल्कोट बागलुङले जित निकालेको थियो । जितसंगै विजेता एनवाईसी नरेठाँटी युथ क्लवले नगद २ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता चित्त बुझाएको आयोजक भम्बक युनाईटेड युथ क्लवले १ लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै तृतीय पाल्पा भलिबल संघ भएको छ । ठकुरी दर्शन समाज शुक्लागण्डकी तनहुँलाई पाल्पा भलिबल संघले ३-१ को सेटले पराजित गरेको थियो। तृतीय भएको पाल्पा भलिबल संघले ५० हजार र सान्त्वना भएको शुक्लागण्डकीको समुहले ३० हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय स्थान छनौटका लागि भएको खेलमा पहिलो, दोस्रो र चौथो सेट पाल्पा भलिबल संघ २५-२३, २५-२३ र २५-१५ अंक हात पारेको थियो । तेस्रो सेटमा ठकुरी समाजले २५-२० अंक जोडेको थियो ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नरेठाँटी युथ क्लवका सन्जु विक्रम शाह भएका छन् ।
५ बिधाका उत्कृष्ट खेलाडीमा बेस्ट सरबर भम्बक युनाइटेडका सन्तोष विक, बेेेष्ट सेटर नरेेेठाटीका सुवास कुवर, उत्कृष्ट स्पाइकर भम्बक युनाईटेडका रवि केसी, उत्कृष्ट ब्लकर नरेठाँटीका विश्वास अधिकारी, उत्कृष्ट डिफेण्डर नरेठाँटीका राजन दर्लामी मगर, राईजिङ प्लेयर नरेठाँटी कै विप्लव शाही ठकुरी भएका छन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।

पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले खेलकुदको विकास र खेलाडी उत्पादनमा स्थानीय तह, प्रदेश र संघीय सरकारले महत्व दिन आवश्यक रहेको बताउनुभयो । साथै रामपुर नगरपालिका वडा नं.५को भम्बक खेल मैदानमा भलिबल खेलका लागि आगामी बर्ष प्याराफिट निर्माण गर्ने प्रतिबद्धता पुनः दोह्रोर्याउनुभयो। युवा खेलकुदमा मात्र सिमित नभई समाजमा व्याप्त विकृति विसंगति हटाउदै समाजिक काममा लाग्न आह्वान गर्नुभयो ।
भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कुमालले खेलको विकास संगै युवालाई जोड्न र आफ्नो ठाउँलाई चिनाउन कार्यक्रम गरिएको बताउनुभयो । गत मंसिर १६ गते देखि शुरु भएको भलिबल प्रतियोगितामा ५ क्लव सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन क्लवका सदस्य शालिकराम खनालले गर्नुभएको हो । प्रतियोगिता अबधिभर विद्यालयका विद्यार्थी,समूह र श्रीकृष कलाकेन्द्रले साङ्गितिक प्रस्तुति देखाएका थिए भने समापनमा साँस्कृतिक झाकी देखाइएको थियो ।




