रामपुरको बिकट १ नम्बर वडामा एकीकृत घुम्ती शिविर
पाल्पा ।
रामपुर नगरपालिका वडा नं. १ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नगरपालिकाले वडा नं. १ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा मंगलबार वडा नं. १ को कार्यालय परिसरमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो ।
शिविरबाट योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्थानीय सरकार जनताको सेवाको लागि साथमा छ भन्ने आभास दिलाउन नगरपालिका कार्यालय देखि दुरीका हिसावले पर रहेका नागरिकको लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । विगतका वर्ष देखि सञ्चालन भएको शिविरलाई थप परिस्कृत गर्दै निरन्तरता दिईएको जानकारी दिनुभयो । नगरपालिका कार्यालयको सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यस पश्चात वडा नं. ९ मा पनि शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीले सहज रुपमा सेवा लिन पाउने नागरिकको अधिकारलाई प्रत्याभूति दिलाउन शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले नगरपालिकाको सेवा संगै स्वस्थ्य जाँच सेवा ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको बताउनुभयो । शिविर वडा नं. १ र २ का ४८५ जनाले विभिन्न सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच सेवा १७० जनाले लिएका छन् । ल्यावसेवा तर्फ १४० जनाको मधुमेह परीक्षण, ४५ जनाको एचआईभी परीक्षण गरी १८५ जनालाई सेवा प्रदान गरिएको थियो ।
आँखा तथा कान परीक्षण आँखा जाँच १३० र कान परीक्षण ७० जनाको गरिएको थियो । आखाँको परीक्षण गरिएका मध्ये ११ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक सेवा ४२ जना र अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र सेवा ६ जनाले लिएका छन् । साथै शिवर बाट २७ वटा योजनाको सम्झौता र एक वटा योजनाको बैंक खाता खोलिएको छ । शिविर बाटै पशु सेवा १७० जना, कृषि सेवा २०६ र आयुर्वेद सेवा १०१ जनाले लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच , कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण सेवा प्रवाह गरिएको थियो । वडाबाटै सेवा प्राप्त गरेसँगै स्थानीयहरु खुशी भएका छन् ।












