अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सेवा र सुरक्षा समन्वय कार्यक्रम सम्पन्न
कास्की ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउने तथा स्थानीय शान्ति सुरक्षालाई थप बलियो बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, कास्कीको अगुवाइमा अन्नपूर्ण गाउँपालिकामा समन्वय तथा व्यवस्थापन कार्यक्रम भएको छ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को सभाहलमा आयोजित कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिस्णु बहादुर के.सी, जिल्ला सुरक्षा समिती कास्कीका पदाधिकारी गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न वडाका सचिव, स्थानीय राजनीतिक दलका प्रतिनिधि, युवा तथा क्लबका पदाधिकारी र सुरक्षा निकाय बिच छलफल भएको छ ।

सेवा प्रवाहमा सुधार बिषयमा नेपाली नागरिकता प्रमाणपत्र जस्ता अत्यावश्यक कागजातहरूको वितरण प्रक्रियामा देखिएका समस्याहरूको पहिचान गर्दै त्यसलाई सरल बनाउन समन्वय गर्ने, स्थानीय तहमा देखिएका सुरक्षा चुनौती र त्यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारबीचको समन्वयलाई कसरी बलियो बनाउने भन्नेबारे विचार विमर्श गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सङ्घीयताको मर्म अनुसार जिल्ला र स्थानीय सरकारबीचको सहकार्यले मात्र नागरिकले घरदैलोमै सरल र प्रभावकारी सेवा पाउन सक्ने कुरामा जोड दिनुभयो ।