2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल अपराजित हुँदै बन्यो बिश्वकप छनौटको च्याम्पियन

नेपाल अपराजित हुँदै बन्यो बिश्वकप छनौटको च्याम्पियन


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १ २०८२
428

काठमाडौं ।

नेपाली क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बनेको छ । अपराजित यात्रा कायम राख्दै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

शुक्रबार भएको फाइनल खेलमा सामोआलाई १२४ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर च्याम्पियन बनेको हो । यस जितसँगै नेपाली क्रिकेटले ११ वर्षपछि आईसीसीको प्रतियोगितामा उपाधि चुमेको छ, जुन नेपाली क्रिकेटका लागि एक ऐतिहासिक क्षण हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतक तथा लोकेश बमको विस्फोटक फिनिसिङको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल खडा गर्‍यो । आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २ चौका र ४ छक्कासहित ५३ रन जोडे । लोकेश बमले ११ बलमा ३९ रनको आक्रामक पारी खेल्दै नेपाललाई २११ रनको बलियो स्थितिमा पुर्‍याएका थिए । रोहित पौडेल २१ रनमा अविजित रहँदा कुशल भुर्तेलले १७ रनको योगदान दिए ।

सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १-१ विकेट लिए ।

२१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो । सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए । नेपाली बलरहरूले सामोआका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् ।

नेपालका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १-१ विकेट हात पारे ।

यो जित नेपालका लागि विशेष अर्थ राख्छ । सन् २०१४ मा आईसीसी डिभिजन फोरको उपाधि जिते यता नेपालले आईसीसीको आयोजनामा हुने कुनै पनि प्रतियोगिता जित्न सकेको थिएन । सन् २०२३ मा विश्वकप छनोटमा ओमानसँग सुपर ओभरमा पराजित भएको पीडालाई भुल्दै नेपालले यसपटक अपराजित रहँदै उपाधि जितेको हो ।

नेपालको यसपटकको विश्वकप यात्रा समूह चरणदेखि नै प्रभावशाली रह्यो । समूह चरणमा कुवेत र जापानलाई हराएपछि सुपर सिक्समा प्रवेश गरेको नेपालले यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो। त्यसपछि कतारलाई ५ रनले पराजित गरेपछि नेपालको विश्वकप छनोट लगभग पक्का भइसकेको थियो । ओमानमाथि ३८ रनको जित निकालेसँगै नेपालले उपाधि नजिक पुगेको थियो ।

यस छनोटबाट नेपाल, ओमान र यूएईले आगामी वर्ष हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । नेपाली क्रिकेटले अब विश्वकपमा विश्वसामु आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com