वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप भव्यताका साथ शुरु (तस्विरहरु)
पाल्पा ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशीको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च नवलपुर बिजयी भएको छ ।
पाल्पाको रामपुर स्थित प्रस्तावित रंगशाला रामपुर –७ किसानबारीमा शुरु भएको प्रतियोगिताको उट्घाटन खेलमा अभिषेक चर्च रजहर नवलपुरले न्यू युथ युनियन क्लव तानसेन पाल्पालाई ३–२ गोल अन्तरले हराएको हो ।

ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षता र लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले ज्योतिपुञ्ज कप कालीगण्डकी वेशी क्षेत्रको ब्राण्डको रुपमा स्थापित भएको बताउनुभयो ।
यहाँ खेलकुदको निकै सम्भावना छ, श्रेष्ठले भन्नुभयो-खेलकुदको पूर्वाधार निर्माणका लागि प्रदेश सरकार मार्फत निरन्तर पहल गर्नेछु ।
प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित १० समूहले सहभागिता रहेको छ । क्लवका अध्यक्ष सुन्दर रानाले तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको बताउनुभयो । ‘फुटबल खेल मैदान निर्माणको अभियान: रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ प्रतियोगिता सुरु भएको हो ।

किसानबारीमा रंगशाला निर्माणका लागि रामपुर नगरपालिकाले दुई करोड विनियोजन गरेको छ । प्रतियोगिता अवधिभर विभिन्न झाँकी प्रस्तुत हुने आयोजकले जनाएको छ । क्लवका उपाध्यक्ष सोम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका सल्लाहाकार ध्रुब पोखरेल र खुम सारुले गर्नु भएको हो ।





