महिला समुहद्दारा खुला तिजगीत प्रतियोगिता सम्पन्न, क्षेत्री समाज प्रथम
पाल्पा ।
पाल्पा रामपुर ७ किसानबारीको शिव शक्ति दुर्गा मन्दिर महिला समूहले आयोजना गरेको प्रथम खुल्ला तिजगीत प्रतियोगिता गरेको छ ।
किसानबारीमा सदैव तीजको ऋषिपञ्चमीको अवसरमा बजार व्यवस्थापन समितिले तीजगीत प्रतियोगिता गर्दै आएकोमा अहिले महिला समुहको संयोजनमा प्रतियोगिता भएको हो ।
किसानबारी खेल मैदानमा भएको प्रतियोगिता समूहका अध्यक्ष मनमायाँ घिमिरेको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि नगर प्रमुख थापाले तिज पर्वको अवसरमा हुने प्रतियोगिताले संस्कृतिको जगेर्ना संगै समाजको समस्यालाई उठान गरि समाधानमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले सिमित स्रोत र साधनका विच नगरको भौतिक विकास संगै आर्थिक, सामाजिक र महिला सशक्तिकरणमा पहल गर्दै आएको बताउनुभयो ।
रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले संस्कृति संरक्षणमा मौलिक तीज गीत संगीतले टेवा दिएको बताउनुभयो । नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हजिलदिन मियाले तिजको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी बर्षका लागि सहकार्य समवय गर्ने बाताउनु भएको थियो ।
१२ समूहको सहभागीता रहेको प्रतियोगितामा क्षेत्री समाज रामपुर पाल्पा प्रथम, चापाकोट ७ केवलघारी सरस्वती गैरेको समूह द्दितिय, चापाकोट ७ मिलनचोक स्मृति ढकालको समूह तृतीय र रामपुर अंग्रेजी आवासिय मावि दिप्स्मा थापाको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।
विजेता समूहलाई क्रमश नगद १५ हजार, १० हजार, पाँच हजार र तीन हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । शिव शक्ति दुर्गा मन्दिर महिला समूहका उपाध्यक्ष उषा रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सीता डोटेलले गर्नु भएको हो ।