पाल्पामा पहिलो महिला सिडियो, ४६ औं सिडियोको रुपमा बिनु बज्राचार्य कुवर
पाल्पा ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको आगान भएको छ । पाल्पा जिल्लाको ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा बिनु बज्राचार्य कुँवर आउनुुुभएको हो ।
बज्राचार्य सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएको हो । यसभन्दा अघि पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछी बज्राचार्य आउनुभएको हो ।
पाल्पाका पत्रकारहरुसंगको परिचय कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बज्राचार्यले नागरिकले पाउनुपर्ने सुचनाको हक कार्यान्वयन गर्न लागिपर्ने बताउनुभयो। “नागरिकले सहज रुपमा कार्यालयहरुबाट पाउनुपर्ने सुचनाको हकलाई प्राथमिकता दिएर काम गर्नेछु ।” उहाँले भन्नुभयो – “नागरिक समाजका अगुवाहरुबाट प्राप्त सुझावलाई मध्येनजर गरेर जिल्लाको सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।”
२०२९ सालमा पाल्पामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा लभ विक्रम शाह आउनुभएको थियो । त्यसपश्चात अहिलेसम्म आएका ४५ जना सबै प्रमुख जिल्ला अधिकारीहरु पुरुष हुनुभयो । ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी आएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बज्राचार्यले जिल्लाका राजनैतिक दल, पत्रकार लगाएत नागरिक समाजका अगुवाहरुसंग परिचय तथा भेटघाट र सुझाव ग्रहण गर्नुभएको छ ।