साउन १ देखि अर्को आदेश नभएसम्म जिल्लाभर चुनढुंगा उत्खनन र ओसार पसारमा रोक
पाल्पा ।
डिभिजन वन कार्यालय पाल्पाले यही साउन १ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर चुनढुंगा सामग्री उत्खनन र ओसार पसार रोक्न निर्देशन दिएको छ । वर्षातको समयमा चुनढुंगा खानीबाट उत्खनन तथा ओसारपसार गर्दा मुख्य तथा सहायक सडक पूर्वाधारमा क्षति पुग्ने,सडक दुर्घटनाबाट निम्त्याउन सक्ने समस्या देखिएकाले उत्खनन र ओसार पसारमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।
खानी उद्योगहरुले खानी विभागबाट स्वीकृत भएको माइनिङ स्किम र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौता समेतको आधारमा निश्चित अवधि खानी उत्खनन तथा ढुवानी रोक्का गर्नुपर्ने व्यवस्था भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।
‘मनसुनको प्रकोपलाई वेवास्ता गर्दै चुनढुंगा खानी उद्योगले उत्खनन र ओसार पसार गर्दै आएकाले पनि निर्देशन नै जारी गर्नु परेको हो,’ उनले भने, ‘स्थानीय बासिन्दा तथा ओसार पसार गर्ने क्षेत्रका नागरिकको गुनासोलाई समेत मध्य नजर गरेर रोक लगाउनु परेको हो ।’
वन नियमावली, २०७९ को परिच्छेद १५ नियम ११८ को ४ बमोजिम बसेको जिल्ला वन सुरक्षा समितिको बैठकले उत्खनन र ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो ।