फरक क्षमताका ५९ जनालाई रामपुर सरकारको सहायता
पाल्पा ।
रामपुर नगरपालिका भित्रका फरक क्षमता भएका ५९ जना नागरिकहरुलाई नगरपालिकाले सहायता सामग्री प्रदान गरेको छ । फरक क्षमताका नागरिकहरुको जीवनयापनमा थप सहजता पुर्याउन आवश्यकताको आधारमा सामग्री दिएको हो ।
रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा १० वटै वडाका फरक क्षमताका नागरिकलाई नगरपालिकाको मिनिहलमा जम्मा गरेर सामाग्री दिएको हो ।
अपाङ्गता क्षेत्र संरक्षण समिति रामपुरका संयोजक जगन्नाथ कंडेलको अध्यक्षता रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थापाले अपाङ्गता भएका नागरिकहरुको संरक्षण र जीवनयापनलाई थप सहज बनाउन नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सहायता सामग्रीले फरक क्षमता भएका व्यक्तिहरुलाई थप आत्मबल प्रदान गर्ने बताउनुभयो । फरक क्षमता भएका नागरिकहरुमा पनि विशिष्ट किसिमको सिप एवं प्रतिभा रहेको बताउँदै क्षमता अनुसारको सिपमुलक तालिम समेत सञ्चालन गरिने बताउनुभयो । उहाँले आफैले आफैलाई कहिल्यै कमजोर नसोच्न आग्रह सहित दैनिकीलाई आफ्नो क्षमता अनुसार कार्यमा व्यस्त बनाउन अनुरोध गर्नुभयो ।
फरक क्षमता भएका भएका व्यक्तिको माग र आवश्यकता बमोजिम यस वर्ष ह्विलचियर पाँच वटा, ईएर फोन तीन वटा, बैसाखी १० सेट, लौरी ३४ वटा र चस्मा सात वटा उपलब्ध गराएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कंडेलले जानकारी दिनुभयो । नगरपालिकाबाट सहायता सामग्री वितरणको लागि दुई लाख रकम बिनियोजन भएको थियो।
फरक क्षमताका नागरिक तथा आफन्तजनहरुलाई नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, प्रवक्ता कपिल बहादुर खाँण, वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु, वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठक लगाएतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रम अपाङ्गता क्षेत्र संरक्षण समिति वडा नं. ३ का संयोजक गंगा बहादुर रानाको स्वागत र वडा नं. ७ का संयोजक मनोज भुजेलको सञ्चालनमा भएको हो ।