वडाले गर्यो एसईईमा सफल विद्यार्थीलाई सम्मान
पाल्पा ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई बधाई सम्मान एवं शुभकामना ज्ञापन कार्यक्रम रामपुर नगरपालिका ४ नम्बर वडा कार्यालयले गरेको छ ।
वडाका विद्यालय र वडाबाट शैक्षिक सत्र २०८१ को एसईई परीक्षा पास गरेका ७६ जना विद्यार्थीलाई सम्मान गरेको वडा अध्यक्ष राम बहादुर रानाले बताउनुभयो । साथै वडाको बौद्धिक सम्पत्तिमा रहेका देशको उच्चतम पदमा पुगेका र पेशा व्यबसाय, सेवाले उत्कृष्ट व्यक्तिहरुको बाकी रहेको सम्मान समेत वडाले सोही अबसरमा प्रदान गरेको थियो ।

सम्मान कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै वडा अध्यक्ष रानाले सम्मान नगद ठुलो धन रासी मात्र होइन योगदान प्रतिको मुल्यांकन भएको बताउनुभयो । प्रमाणपत्र र सम्मान पत्रलाई महत्त्व दिनु हुनेछ उहाँले भन्नुभयो-अझ उच्च शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस् शुभकामना । वडाको बौद्धिक सम्पत्ति तपाईहरु हो, कर्म गर्दागर्दै आफ्नो जन्मभुमिलाई कही कोहीले पनि नभुलौ राम्रो गर्दै समाज रुपान्तरणमा योगदान दिऔं उहाले थप्नुभयो।
वडा सदस्य सिमा रानाको स्वागतबाट सुरु भएको कार्यक्रममा रामतुलसी नमुना माविका प्रध्यानध्यापक बालकृष्ण लम्सालले बधाई तथा शुभकामना दिनु हुँदै प्राविधिक धारमा चलेका विद्यालय बन्द हुने स्थितिमा पुगेको बताउनुभयो । उहाँले घरकै खाएर थोरै लगानीमा प्राविधिक शिक्षा लिन पाउँदा पनि विद्यार्थी बाहिरै हानिएको तर्फ इङ्कित गर्दै कृषि पढ्न आउने विद्यार्थीलाई रामतुलसी माबिले निशुल्क पढाउने बताउनुभयो ।

रामपुर अग्रेजी आवाशिय माविका अध्यक्ष गुरु प्रसाद रेग्मी, सिताराम माविका प्रध्यानध्यापक हरी प्रसाद अधिकारी, शिक्षक लेखनाथ शर्मा मरासिनी, समाजसेवी बिष्णु प्रसाद आचार्य, टोल बिकास सस्थाको तर्फबाट मोहन सिं थापा, युथ युनियन क्लबका अध्यक्ष कमल राना, अभिभावक बाबुराम श्रेष्ठ, टकमाया राना, कमला थापा र विद्यार्थी सनु श्रेष्ठ, सुदिया थापाले विद्यालय शिक्षामा लगानी मेहनत र परिश्रमको फल नै एसइई उत्तीर्ण भएको बताउनुभएको थियो ।
वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा वडा सदस्य कमला रुचालले धन्यवाद दिनु भएको हो भने सञ्चालन वडा सदस्य मोहन सिंह रानाले गर्नु भएको हो।

