2

Logo २०८३ बैशाख १३ आइतबार
तीन वा सो बढी जन्मिने सन्तानलाई रामपुर नगर सरकारको मासिक ५०० भत्ता

तीन वा सो बढी जन्मिने सन्तानलाई रामपुर नगर सरकारको मासिक ५०० भत्ता


Sabalnews प्रकाशित मिति : सोमबार, असार ९ २०८२
680

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले जनसंख्या वृद्धिदर कम र शिक्षित युवा पलायनले जनसंख्या व्यबस्थापन गर्न दुई भन्दा बढी सन्तानका रुपमा जन्मेको बच्चालाई मासिक ५ सय भत्ता दिने भएको छ । आइतबार भएको नगरसभाको १७ औं अधिबेशनमा नगरप्रमुख रमण बहादुर थापाले निति कार्यक्रम प्रातुत गर्दै आर्थिक वर्ष २०८२/०८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक रकम दिने भएको हो ।

यो रकम पछिल्ला जन्मेका हरेक सन्तानको नाममा खाता खोली मासिक ५०० का दरले ५ बर्षसम्म उपलब्ध गराउने बताएको छ । नगरपालिकाका गाउँघरमा जन्मदर कम हुँदै गएको छ, नगरप्रमुख थापाले भन्नुभयो-‘एक वा दुई सन्तान जन्माउने गाउँबस्ती छाड्ने दर बढेकाले पनि आगामी आर्थिक वर्षदेखि नै तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्षसम्म मासिक रकम खातामा राखिनेछ ।’
यो कार्यक्रमले जन्मेका बच्चाको खातामा केही रकम सुरक्षित समेत हुनेछ उहाँले भन्नुभयो।

नगरपालिकामा स्थायी बसोबास गर्ने नगरवासीबाट आगामी आर्थिक वर्षबाट तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो सन्तान वा तेस्रो सन्तान पछिका हरेक सन्तानको नाममा मासिक रूपमा भत्ता दिइनेछ। यसको लागि नगरपालिकाले कार्यविधि बनाएको छ । तेस्रो र त्यसपछिका सन्तानको बाल बचत खाता खोलेर पाँच वर्ष उमेर नपुगुन्जेलसम्म नगरपालिकाबाट नियमित रूपमा जम्मा गरिने व्यवस्था गरिने नगरप्रमुख थापाले बताउनुभयो ।

साउन १ गतेपछि नै प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिनेछ । यसको लागि उपप्रमुख बालकुमारी थापाले नगरसभामा प्रस्तुत गर्नुभएको  बजेटमा ७ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । नगर सभामा उपप्रमुख थापाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।

जसमा संघीय समानिकरण अनुदान १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ६३ लाख ९८ हजार ६२१, संघीय समपूरक पुँजीगत ९१ लख, संघीय विशेष चालुमा ७५ लाख, संघीय सशर्त चालुतर्फ ३५ करोड ११ लाख, संघीय सशर्त पुजीगततर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड २९ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको छ । प्रदेश समपूरक १ करोड २० लाख, प्रदेश सशर्त चालुतर्फ १५ लाख ८ हजार र प्रदेश पुँजीगततर्फ ३ करोड र आन्तरिक स्रोत अल्याह सहित १४ करोड जुटाउने नगरसभामा बजेट प्रस्तुत भएको छ ।

खर्चतर्फ चालु बजेट ६० करोड ५० लाख ५८ हजार २०६ (७३.६२%) र पुँजीगत खर्च २१ करोड ६८ लाख ८ हजार ४१५(२६.३८%) विनियोजन गरेको छ । गतवर्ष २०८१/०८२ मा ७४ करोड बजेट थियो ।

नगरपालिकाका १० वटै वडालाई नगरसभाले अहिले समान ६०–६० लाख विनियोजन गरेको छ।

नगरले कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, उद्यमशिल, उत्पादन र रोजगारी, वातावरण संरक्षण सहितका कार्यक्रम प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरसभाले नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक छलफल पश्चात् पारित गरेको छ । कालीगण्डकी डाइभर्सनको बिरोधलाई संकल्प सहित पास गरेको छ ।

लेखा समितिका संयोजक तेज बहादुर राना, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर राना र न्यायिक समितिका सदस्य खेमराज अधिकारीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा रामपुर नरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सभाको शुन्य वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारुले कालीगण्डकी डाईभर्सनको विरोध गर्दै संकल्प प्रस्ताव पास गर्न माग गर्नु भएको थियो । रामपुर ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले बेरुजु घटाउन पहल गर्नु पर्ने धारणा राख्नुभयो । विशेष समयमा रामपुर नगर प्रवक्ता कपिल बहादुर खाँणले व्यापक छलफल गरेर योजना तथा कार्यक्रमलाई अघि बढाउन सकिने बताउनुभयो । रामपुर६ का  अध्यक्ष दिवाकर देवकोटाले प्राथमिकता योजना र कार्यान्वयन पाटो चुस्त हुनुपर्ने बताउनुभयो । रामपुर८ का वडा अध्यक्ष दिनेश आचार्यले जटायु पार्कलाई जोड्नपर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममा सभा सदस्यहरु कपिल बहादुर खाँण, दिनेश आचार्य र दामोदर पाठकले आफ्‌नो राय पेश गर्नु भएको थियो । विनियोजित बजेट माथि रामपुर ३ का अध्यक्ष पाठक, रामपुर ४ का वडा राम बहादुर राना, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी, ४ का वडा सदस्य मोहम्मद अजिम शेखले आफ्‌नो सुझाव पेश गर्नु भएको थियो । नगरप्रबक्ता कपिल बहादुर खाणको स्वागत तथा आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमको धन्यवाद एवं प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको सञ्चालनमा सभा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com