विद्युत अनियमितताबारे पाल्पाका राजनितिक दलद्दारा ध्यानाकर्षण
पाल्पा ।
पाल्पाका विभिन्न राजनीतिक दलले विद्युत अनियमितताबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले विद्युत अनियमितता बारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । जिल्लामा अघोषित लोडसेडिङको हैरानी बेहोर्नुपरेको उनीहरुको गुनासो छ ।
लिफ्टिङ खानेपानी, प्रशासनिक काम, व्यापारिक प्रयोजनमा गरिएका काम अवरुद्ध हुने समस्या भोग्नुपरेको उनीहरुको भनाई छ । यस्तै अरबौ बक्यौता नतिरेका उद्योगीलाई पूर्ण समय विद्युत उपलब्ध गराउने तर आम सर्वसाधारणका लागि विद्युत काट्ने कुराले दुखित बनाएको ज्ञापन पत्रमा उल्लेख छ । बिना सूचना नागरिकलाई विद्युत सेवाबाट बन्चित गर्ने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण पाल्पा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो ।
नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्र अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहक सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुलबहादुर कुवँर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी कार्यालयमा पुगेर जिल्लाको विद्युत अनियमितता बारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।