“सकारात्मक सोच र खुशी एक कला” बिषयक प्रशिक्षण सम्पन्न
पाल्पा ।
सकारात्मक सोँच र खुसी एक कला सम्बन्धी प्रशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा शनिबार नमस्ते पाल्पा होटेलमा विद्यार्थी, शिक्षक, अभिभावक, टोल विकास सस्था तथा सामाजिक व्यक्तित्वलाई जम्मा पारेर वडाले सकारात्मक सोँच सम्बन्धी प्रशिक्षण सन्चालन गरेको हो ।

मानव सेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सुन्दर जिवनमा नैराश्यता हटाई सकारात्मक सोँचको विकासमा ढाल्न प्रेरणा प्रदान गर्नुभयो । जिवनको महत्त्व, उद्देश्य, अपेक्षा र समय व्यवस्थापनलाई आफैले कावुमा राखेर आफ्नो लागि आफै राजा संकल्पलाई दृढ बनाउन आग्रह गर्नुभयो । मन शुद्ध र सही मार्गमा हिड्यो भने सानो-सानो कुराले आफू र परिवारमा खुशी मिल्ने बताउदै प्रशिक्षण अधिकारीले धर्तीमा ल्याउनुहुने, जिवन्त छोराछोरीको भलोमा लाग्ने बुवा, आमा, गुरु र जन्मभूमिको आदर र सम्मान गर्नुपर्ने बताउनुभयो । विधीबाट चले सिद्दी प्राप्त हुने, शासन गर्ने मानिस नैतिकवान् हुने र सबैलाई सम्मान गर्ने सुत्रलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

रामपुर नगर उपप्रमुख बालकुमारी थापाले सत्कर्ममा हिड्न प्रेरणा साथै मानव जीवनलाई सुन्दर बनाउने ज्ञान प्राप्त भएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँणले सोँच सकारात्मक बनाउन सक्यौ भने मात्र स्वभाव परिवर्तन गर्न सकिने बताउनुभयो ।
नगर शिक्षा अधिकृत विकल काफ्लेले उर्जाशिल बालबालिकाहरुको लागि लक्ष्यित कार्यक्रमले हरेक क्षेत्रमा थप उर्जा प्रदान गर्ने बताउनुभयो । दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले उर्जाशिल यस्ता कार्यक्रम समय-समयमा गरिनुपर्ने औल्याउनुभयो ।
रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले समाज रुपान्तरणको लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भुमिका रहने बताउदै जीवनलाई सकारात्मक सोँचबाट अगाडि बढाउनु र सन्तुष्टि लिनुको बिकल्प नरहेको बताउनुभयो । चित्त सानो हुनेको विचार साघुरिएर जाने हुँदा समाज रुपान्तरणमा थप उर्जा प्रदानका लागि सकारात्मक र खुशी खोज्नुपर्ने बताउनुभयो ।

वडा नम्बर ६ का अध्यक्ष दिवाकर देवकोटाले जिवनको कला बुझ्न अरुको सहारा होइन अरुले ठिक भनिदिएर होइन आफैको इन्द्रिय लगाएर सुन्दर र सुरक्षित जीवन जिउनुपर्ने बताउनुभयो ।
वडा नम्बर ५ का वडा सदस्य युवराज शाहीले जिवनको महत्त्व बुझ्ने र सोच सदैव पोजेटिभ हुनुपर्नेमा जोड दिनुभयो ।
रामतुलसी नमुना माविका प्रध्यानध्यापक बालकृष्ण लम्साल, इस्लामपुर टोल विकास सस्थाका साइबा बेगम,समाजसेवी बिष्णु प्रसाद आचार्यले जिवनको भोगाई र आफू सहित परिवार, समाजको दायित्व पनि हुने हुँदा सबैलाई भलो हुने संकल्पमा हिड्नुपर्ने बताउनुभयो ।

कार्यक्रम विहान विद्यार्थी, शिक्षक र दिउँसो अभिभावक, टोलविकास समिति र सामाजिक व्यक्तिको गरी दुई सत्र सञ्चालन गरिएको थियो । वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका तथा वडा सदस्य सिमादेवी थापाको स्वागतबाट सुरु भएको हो । कार्यक्रममा वडा सदस्य मोहम्मद अजिम शेखले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको हो ।
साथै, विद्यार्थी, शिक्षक र अभिभावक केन्द्रित यस्तै प्रशिक्षण शुक्रवार रामपुर नगरपालिका ९ ले अर्वसिहमा राखेको थियो । सो प्रशिक्षणमा उल्लेख्य नागरिकको सहभागीता रहेको थियो ।

