आयआर्जनमा जोड्न रामपुरका महिलालाई खादा बनाउने तालिम
पाल्पा ।
महिलाहरुलाई आयआर्जनमा जोड्न पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुलाई खादा बनाउने तालिम दिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत नगरका २२ जना महिलालाई सीपमुलक तालिम दिएको हो ।
जेठ १६ गते देखि असार ४ गतेसम्म चलेको तालिममा नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधिमुलक महिलालाई सहभागी गराई उपलब्ध मेसिनको प्रयोगमा व्यवसायिक बनाउन तालिमको आयोजना गरेको नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । तालिम समापनमा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिलालाई उद्यम र आम्दानीसँग जोड्न तालिम चलाएको बताउनुभयो । उहाँले तालिम लिनका लागि मात्र नलिई सिकेका सीप सदुपयोग गर्दै बाहिरबाट ल्याउनुपर्ने अबस्था अन्त्य गर्न अनुरोध गर्नुभयो । नगर प्रमुख थापाले अन्य वडामा पनि महिलाहरुले विविध उद्यमलाई जोड्दै लगेकोमा अब नगरपालिकाको कोशेली घरबाट बिक्री र बजारीकरण गर्न सहज भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै कोशेली घरबाट बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाएको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले स्वागत मन्तव्य व्यक्त गर्दै तालिम निकै राम्रो भएको र तालिम लिनु मात्र नभै अब यसको सदुपयोग र प्रतिफलसँग जोडिने बताउनुभयो ।
तालिमका प्रशिक्षक बन्दना रानाले हातै नबसेका महिला दिदीबहिनीले पनि अन्तिमसम्म आइसक्दा निकै राम्रो सीप सिकेको र यसको निरन्तरताको लागि आग्रह गर्नुभयो । सहभागी माया श्रेष्ठ र फुलमाया नेपालीले तालिम उपलब्धिमुलक रहेको र व्यवसायिक बन्ने प्रतिबद्धता जनाउदै अझ उड्भान्स तालिम ल्याउन अनुरोध गर्नुभयो ।

तालिम पाल्पा होजारियाका प्रशिक्षक बन्दना राना र निर्मला राना सारुले खादा बनाउने सिप सिकाउनुभएको हो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो ।
