पाल्पामा चलेको जलबायु उत्थानशीलता पारिस्थितिक सुदृढीकरण कृषक पाठशाला सम्पन्न
पाल्पा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पाल्पा महासंघको समन्वयमा सामुदायिक वनमा चलाएको जलबायु उत्थानशीलता र पारिस्थितिकीय सुदृढीकरणका लागि कृषक पाठशाला सम्पन्न भएको छ ।
जिल्लाको रामपुर स्थित राम्चे सामुदायिक वनमा उपभोक्ता बिच १८ हप्ते कृषक पाठशाला चलाएको हो । गण्डकी जलधार जलबायु उत्थानशिल आयोजना अन्तर्गत सामुदायिक वन जिल्ला महासंघ पाल्पाको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो।
बैशाख ७ गतेदेखि जेठ ३१ गतेसम्म १८ हप्तासम्म सञ्चालन भएको पाठशालामा १२ महिला र ८ पुरुष गरी जम्मा २० जना कृषक सहभागी थिए। पाठशालामा सामुदायिक वनको महत्त्व, आम्दानी, वन डढेलो,जलबायु परिवर्तन र यसको असर न्यूनीकरण, मानव र बन्यजन्तुको द्दन्द,जलाधार व्यबस्थापन, वनमा आधारित उद्दम, सामाजिक एकता, बैधानिक व्यबस्था, मिचाहा प्रजाति व्यवस्थापन, सहकारी र महिल शसक्तिकरणका बिषयमा कक्षा चलेको थियो ।
वनको दीगो व्यवस्थापन, वन संरक्षण र जनजीविकासँगको अन्तरसम्बन्धबारे सामुदायिक वन महसंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले वन जीवन हो, यसको संरक्षण र दिगोपन सुनिश्चित नगरी हामी जलबायु परिवर्तनसँग लड्न सक्दैनौं भन्नुभयो। सामुदायिक वन उपभोक्ताहरूले वनको दिगो व्यवस्थापनसँगै आफ्नो जीविकोपार्जन सुधार्न सक्ने अवसर पनि वनले दिने बताउदै निरन्तर सिकाइ र व्यवहारमा ल्याउन आवश्यक रहेको औंल्याउनुभयो ।”
सामुदायिक वन महासंघ रामपुर नगर अध्यक्ष एवं प्रशिक्षक बिन्दु श्रेष्ठले कृषक पाठशालाबाट सिकाइएका जलबायु उत्थानशिल अभ्यासहरू कृषकहरूले आफ्नो जीवनशैलीमा प्रयोग गरी जलवायु परिवर्तनको असर घटाउन सकिने बताउनुभयो । राम्चे सामुदायिक वन समुहका अध्यक्ष विष्णु प्रसाद बस्यालले पाठशालाले सहभागीलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरेकोले यसको प्रभाव दीर्घकालीन रूपमा देख्न सकिने बताउनुभयो ।
पाठशाला समापनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष वन्दना पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ नगर सदस्य इश्वरी खनालले वनको दिगोपन र यस्तै हरिया वन पुस्तामा हस्तान्तरणका अलगी सबैले वन वातावरण संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
वन समुहमा रहेका सहभागीहरूले तालिमको अनुभव र सिकाइहरू व्यक्त गरेका थिए । उत्कृष्ट र नियमित आउने कृषकलाई डायरी कलम प्रदान गरिएको थियो । राम्चे सामुदायिक वन समुहका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम समितिका उपाध्यक्ष खड्ग प्रसाद श्रेष्ठको स्वागत र सञ्चालन उपसचिव जितबहादुर थापाले गर्नु भएको थियो ।