अन्ततः पाल्पामा यार्सागुम्बा नै भएको पुष्टि
पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको यर्सागुम्बा जस्तो बस्तु विज्ञान प्रयोगशालाले यार्सागुम्बा नै भएको प्रमाणित गरेको छ ।
केन्द्रिय परिक्षण प्रयोगशालाले पाल्पामा भेटिएको यार्चागुम्बा जस्तो बस्तु यार्सा नै भएको पुष्टि गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो । यार्सागुम्बाका विभिन्न जात भएपनि परिक्षणपछि यार्सागुम्बा भएको जानकारी परिक्षण कार्यालयले गरेको हो ।
रम्भा गाउँपालिका-३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएकाे थियो । राष्ट्रिय विधि विज्ञान प्रयाेगशाला ललितपुरमा गरिएकाे परीक्षणका क्रममा साे कुरा पुष्टि भएकाे हो-डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले भन्नुभयो- “रिमिघा लेकमा भेटिएकाे यार्साजस्ताे देखिने जडीबुटी यार्सा नै भएकाे प्रमाणित भएकाे छ ” । यार्सागुम्बाकाे निकासी अनुमति वन कार्यालयले दिने प्रावधान छ ।
राष्ट्रिय वन क्षेत्रभित्र यार्सागुम्बा जडीबुटी भएकाे हाे । नेपाल सरकारले प्रतिकिलाे ३१ हजार रूपियाँ राजश्व लिएर सुचिकृत व्यापारीलाई यार्सागुम्बा बिक्री गर्छ । भेटिएकाे यार्सागुम्बालाई व्यापारीले नै ग्रेड निर्धारण गरेर बजारमा बिक्री गर्ने प्रचलन रहेकाे वनका कर्मचारी बताउँछन् । पाल्पामा यार्सागुम्बा कति क्षेत्रमा भेटिएकाे हाे भन्ने टुङ्गाे लाग्न बाँकी रहेकाे डिभिजन प्रमुख भट्टराईले जानकारी दिनुभयाे । वडा नं२ फाेक्सिङ्काेट क्षेत्रमा पनि यार्सागुम्बा जस्ताे जडीबुटी फेला परेकाे स्थानीयले बताएका छन् । त्यसकाे भने पुष्टि हुन बाँकी छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, डिभिजन वन कार्यालय प्रमुख र सम्बन्धित स्थानीय तह रम्भा गाउँपालिका प्रमुख सहितको सहभागीतामा रिपोर्ट खोलेर आज आइतबार सार्वजनिक गरेको हो ।