आजदेखि यातायात व्यवसायीको बन्द, यातायात बन्दले सर्वसाधारणमा मर्का
काठमाडौं ।
यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।
आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेको उहाँको भनाइ छ । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दापनि सुनुवाइ नभएपछि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उहाँको भनाइ छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आन्दोलनलाइ आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाईदिन सबै निकायमा अपिल गरेको छ भने यातायात बन्दले आम नागरिक मर्कामा परेका छन् । सार्वजनिक सवारीसाधन मात्र बन्द भएकोले आम नागरिक सडकमा छोटो तथा लामो दुरीका गाडी नचल्दा समस्यामा परेका छन् ।
