माथागढी गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण शुरू
पाल्पा ।
जिल्लाको माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य शुरु भएको छ । जग्गा प्राप्ति नहुँदा लामो समयसम्म प्रशासकीय भवन बन्न सकेको थिएन ।
स्थानीय बासिन्दाले जग्गा दान गरेपछि माथागढी–४, झडेवा फाँटमा साढे आठ रोपनी जग्गामा आधुनिक प्रशासकीय भवन निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । पालिकाको भवन बनाउनका लागि स्थानीय डा. सुर्यबहादुर जिसी, गोविन्दबहादुर जिसी, श्यामबहादुर जिसीले जग्गा दान गर्नुभएको थियो ।
यसअघि सन्तोष थापा नेतृत्वको कार्यपालिका बैठकले किसान माविको जग्गामा प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेर ठेक्का आह्वान गरेकाे थियाे । तर उक्त निर्णयअनुसार विद्यालयकाे जग्गामा शैक्षिक संरचनाबाहेक अन्य संरचना र पूर्वाधार भवन बनाउन नमिल्ने भएपछि प्रशासकीय भवन बनाउन अन्य स्थानमा जग्गाकाे खाेजी गरिएकाे हो । पहिले निर्णय भएको जग्गामा भवन बनाउन नमिल्ने भएपछि अर्को स्थानमा जग्गा खोज्न समय लागेको चिदीले बताउनुभयो ।
प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको ४० र सङ्घीय सरकारको ६० प्रतिशत खर्च हुनेछ । भवन कुल ६ करोड ७६ लाख ८५ हजार रुपियाँमा बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । पालिकाकाे प्रशासकीय भवन बनेपछि प्रशासन, कृषि, पशु, शिक्षा, प्राविधिक, लेखा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालगायतको सेवा प्रवाहमा सहज हुने घिमिरेले बताउनुभयो ।
अहिले तत्कालिन झडेवा गाविसको एक तले साघुरो भवनबाट गाउँपालिकाले सेवा दिदै आएको छ । आगामी २०८२ चैत २२ गतेभित्र सक्ने गरि भवन निर्माण शुरु भएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । भवन बनेपछि यस भेगका नागरिकले पालिकाबाट पाउने सेवा लिन सहज र प्रभावकारी हुनेछ ।
भवनको आइतबार गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, जग्गादाता लगायतले शिलान्यास गर्नुभयो । भवनसँगै घेराबार, कम्पाउण्ड, तीन सय जना क्षमताको हल तयार हुनेछ ।