2

Logo २०८३ बैशाख १३ आइतबार
तेस्रो गोरखा- जितगढी पदयात्राको पाल्पामा भव्य स्वागत (फोटो फिचर)

तेस्रो गोरखा- जितगढी पदयात्राको पाल्पामा भव्य स्वागत (फोटो फिचर)


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २ २०८२
1.1K

पाल्पा ।

नेपाली सेनाको नेतृत्वमा ऐतिहासिक गोरखा–जितगढी तेस्रो संस्करणको पदयात्रा टोलीलाई मंगलबार पाल्पा भव्य स्वागत गरिएको छ । गत चैत्र २८ गते बिहान ९ बजे गोरखा दरबारबाट  निस्किएको टोली ५ दिन लगाएर तनहुँ- स्याङ्जा हुदै मंगलबार बिहान पाल्पा आइपुगेको हो ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखा देखि पश्चिम तर्फको पदमार्गलाई पछ्याउँदै नेपाली सेनाले ३ बर्षदेखि पदयात्रा शुरु गरेको थियो । राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनीहरु श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित तनहुँ स्याङ्जा हुदै स्याङ्जाको चापाकोट ६ साँखर केलादीघाटबाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीपुलमा  पञ्चेबाजा, राष्ट्रिय झण्डा अङ्कित खादा, फुलमालाले भव्यताका स्वागत गरिएको हो ।

केलादी पुलमा चापाकोट नगरपालिका ६ का वडा अध्यक्ष तारादेवी पोख्रेलले रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापालाई नेपालको झण्डा, श्री नं. ३ राजदल गणका प्रमुख सेनानी रवि खड्काले २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्कालाई टर्च हस्तान्तरण गर्नुभयो ।

टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित, भूत पूर्व नेपाली सैनिक, भूतपूर्व भारतिय सैनिक, राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थी, रामपुर स्काउट ट्रुप, बिभिन्न समुदायका महिला समुह, आमा समुह, स्थानीयले स्वागत सहित यात्रामा एक्यवद्धता जनाएका थिए ।

पदयात्रामा सहभागी टोलीलाई केलादी चोकमा स्थानीय पन्चेबाजाले स्वागत गर्दै शान्ति दीप उद्यान पार्क खोप्टार, सदावर्त, देविस्थान लगायत बाटोघाटोमा सस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न समुदाय, समुह,क्लवले फूलमाला सहित स्वागत गरेका थिए भने टोल विकास संस्था, महिला समुह तथा क्लवहरुले पिउनेपानी फ्रुटी प्रदान गरेका थिए । खोप्टार पार्कमा टोलीले प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण गरेको छ ।

केलादीमा स्वागत संगै रामपुर नगरपालिकाले  रामपुर–४ देविस्थानको कालिका माविको प्राङ्गणमा स्वागत कार्यक्रम गरेको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपाली सेनाले सञ्चालन गर्दैआएको पदयात्राले नयाँ पुस्तालाई इतिहास बारे जानकारी दिन तथा ऐतिहासिक गढीहरुलाई पर्यटन संग जोड्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नेपाल र नेपालीलाई चिनाउने ऐतिहासिक धरोहरको संरक्षण आवश्यक रहेको बताउदै पदयात्रा संगै ऐतिहासिक गढी लगाएत अन्य संरचनाहरुको संरक्षण, आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पदयात्राले नेपालीको वीरताको पहिचान दिन, गढीहरुको संरक्षण गर्न, भावि पुस्ता इतिहासबारे जानकारी दिन, राष्ट्रिय एकता, सुरक्षा निकाय र नागरिक बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

श्री नं. २२ बाहिनीका सहायक रथी पुरुषोत्तम खड्काले इतिहासको सम्बर्द्धन तथा प्रबर्द्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउने उद्देश्यले तीन वर्ष देखि पदयात्रा निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । पाल्पा जिल्ला आफैमा ऐतिहासिक र सांस्कृतिक जिल्ला हो, उहाँले भन्नुभयो- जिल्लाको बाकुमगढी एकिकरणको समयमा गोरखाली फौज र पाल्पाली फौज बिच लडाई भएको स्थान,  माथागढी र नुवाकोटगढी नेपाल-अंग्रेज युद्धको समयमा प्रयोग भएको महत्वपूर्ण स्थान हो।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन दि फेमस महिन्द्र दल गणका प्युठ इन्द्र वैद्य क्षेत्रीले गर्नु भएको भएको हो । जिल्लाका पालिकाहरुले पदयात्रामा रहेको टोलीलाई आआफ्नो पालिकामा स्वागत गरी विदाई गर्नेछ । केलादीमा स्वागत गरेको रामपुर नगरपालिकाले टुनीभञ्ज्याङ्ग पुगेर विदाई गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठलाई झण्डा हस्तान्तरण गरी रामपुरबाट टोलीलाई बिदाई गर्नुभयो ।

टोली ११ औं दिनमा पदयात्रा सम्पन्न गर्नेछ । कुल तीन सय पाँच किलोमिटर दुरी रहेको गोरखा-जितगढी यात्रा पार गरि वैशाख ७ गते जितगढीमा स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । नेपाली सेनाले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन पदयात्रा सुरु गरेको थियो ।
पाल्पामा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको सेनाले ६ दिन लगाएर पदयात्रा गर्ने दी फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

गोरखाबाट शुरु पदयात्रा ५ दिन लगाएर तनहु हुदै पाल्पा आएको छ । टोली मंगलबार केलादीघाटबाट देवीस्थान, दर्छा सीताकुण्ड, टुनी भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा, पिलुवा जब्गादी हुँदै विरकोट सम्मको ३५ किलोमिटर यात्रा गरेको छ । बुधबार विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी, हुँदै माथागढी सम्मको ३९ किलोमिटर यात्रा गर्नेछ । विहिबार माथागढी, झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी, दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्नेछ । शुक्रबार प्रभास, लामडाँडा, बर्तुङ, तानसेन, काजीपौवा, पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि बास बस्ने छ । सोही दिन तानसेनका प्रमुख स्थानहरुको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । शनिबार प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान सम्मको ३२ किलोमिटर यात्रा गर्नेछ ।

आइतबार नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सवको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगेर बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयउत्सवमा सहभागी हुने कार्यक्रम छ । पदयात्रामा ५३ जनाको नेपाली सेना सहभागी रहेको सेनानी जित बहादुर कार्कीले बताउनुभयो ।
पदयात्राले सैनिक र नागरिकको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकको अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने लक्ष्य लिईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com