लक्ष्मीनारायण गुठी रामघाटद्दारा सहयोगीदातालाई सम्मान
पाल्पा ।
समुदायलाई हस्तान्तरण गरिएको पाल्पाको लक्ष्मीनारायण गुठी रामघाटमा रामनवमी पर्व भव्यताका साथ मनाउदै सघाउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । राम लक्ष्मण तीर्थस्थल रामघाटका लागि सहयोग गर्नुहुने सबैलाई समितिले रामनवमीको अवसरमा सम्मान गरेको हो ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम डा. केशव स्वामी प्रपन्नाचार्यको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्दिरमा अक्षयकोष स्थापना गर्नुहुने तथा विभिन्न सहयोग गर्नुहुने संस्था एवं व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको स्वागतबाट शुभारम्भ भएको सम्मान कार्यक्रम संस्थाका सचिव मिनराज रेग्मीको सञ्चालनमा भएको हो ।

रामनवमीको अवसरमा रामघाटबाट बिहान राममन्दिर, राम्चे वन र रामकुवा हुँदै पुनः रामघाट जोडिने गरि भजन कृतन सहित कलश यात्रा निकालिएको थियो । रामघाटमा रहेको भगवान रामचन्द्रको मुर्तिलाई रामकुवामा स्नान गराएर परिक्रमा गराईएको हो ।
कलश यात्राको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नु भएको थियो । उहाँले रामघाटमा निर्माण भएको धर्म आश्रम तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो । जेष्ठ नागरिकहरुको लागि घर देखि मिलन केन्द्र सम्म आउन जान बस सेवा सञ्चालनको बस खरिद भैसकेको र सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । भगवान राम संग जोडिएको रामपुर क्षेत्रको धार्मिकको प्रवर्द्धनका लागि कलश यात्रा गरेको थियो । कलश यात्रामा महिला समुह, क्लव तथा विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।

दुई सय वर्षअगाडि निर्माण भएको लक्ष्मीनारायण मन्दिरमा विहानै देखि पुजा आरधनाका लागि श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो । कालीगण्डकीमा स्नान गरी मन्दिरमा पुजा गर्नेहरुको घुईचो लागेको थियो । रामघाटमा स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न दर्शन दिएपछि विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको छ । त्यस पश्चात जिर्ण रहेको मन्दिरको जिर्णउद्धार गरिए पनि २०७२ सालमा भुकम्पले क्षति गरेपछि पुरानै शैलीमा पुनः निर्माण गरिएको थियो । रामनवमीको पूर्व सन्ध्यामा गत शुुक्रबार र शनिबार डा. केशव स्वामी प्रपन्नाचार्य बाट प्रवचन भएको थियो ।
नवमीको दिन साँझ मन्दिरमा साँझ लाख बत्ती बालिएको थियो । साथै ५ जना पण्डितहरुको उपस्थितिमा गंगा आरती समेत गरिएको थियो । मन्दिरमा पुगेका भक्तजनहरुलाई भम्बक युनाईटेड युथ क्लवले खुदो पानीको व्यवस्था गरेको थियो । प्रसादको व्यवस्थापन हिमालयन लाईफ इन्स्योरेन्स रामपुर शाखाले गरेको थियो । स्थानीय उत्पादनका गुण र जेरी नमकिन सहितका खाजा किनमेलको चहलपहल थियो ।

