2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री ओली : अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने

प्रधानमन्त्री ओली : अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०८१
477

ललितपुर,  १२ चैत्र 
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। ललितपुरमा आयोजित प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक प्रविधि र वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित तथा दिगो संरचना निर्माण गर्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले नेपालको भौगोलिक बनावट र भूकम्पीय संवेदनशीलता उल्लेख गर्दै पहाडी क्षेत्रमा पहिरो तथा भूकम्पजन्य जोखिम न्यूनीकरण गर्न इन्जिनियरहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भने, “हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्भिक अवस्थाको मूल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ। खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन। कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिनेछ।”

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि र नागरिकको सुख-समृद्धिका लागि विकास पूर्वाधारको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै भने, “पूर्वाधारको विकास विना विकास सम्भव छैन। पूर्वाधारको विकासले बजारको सृजना गर्छ, उद्यमशीलता गर्छ।” उहाँले विकास निर्माण कार्यमा सरकार प्रतिवद्ध रहेको र गुणस्तरीय तथा दीगो संरचना निर्माणका लागि नीति तथा कानुन सुधार गर्न सरकार तयार रहेको बताउनुभयो।

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विकासका गतिलाई तीव्रता दिन पूर्वाधार निर्माण, प्रविधिको प्रयोग, कानुनी सुधार तथा व्यवसायिक वातावरण सहज बनाउन सरकार लागि परेको जानकारी गराउनुभयो।

भूकम्पपछिको पुनःनिर्माण र ‘विल्ड बेटर’ अभियान
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकारले ‘विल्ड बेटर’ (अझ राम्रो बनाऔं) नाराका साथ भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकता दिएको स्मरण गर्नुभयो। विसं २०७२ को विनाशकारी भूकम्पपछि पुनःनिर्माणका क्रममा सरकारले अत्याधुनिक प्रविधि र वैज्ञानिक विधिहरूको उपयोग गर्दै भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्रवर्द्धन गरेको उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले मुलुकमा प्रतिपक्षको भूमिका सकारात्मक र रचनात्मक हुनुपर्ने उल्लेख गर्दै विपक्षी दलहरूले विकासका मुद्दामा सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो। “देशको विकास सबै राजनीतिक दलको साझा जिम्मेवारी हो। सरकार विकासको एजेन्डामा एकमत हुन अपील गर्छ,” उहाँले भन्नुभयो।

इन्जिनियरहरूको भुमिका महत्वपूर्ण
महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले इन्जिनियरहरूको भूमिका अझ बढी सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पूर्वाधार निर्माणमा आधुनिक प्रविधि र नवीनतम प्रविधिको प्रयोग गर्न इन्जिनियरहरूले पहल गर्नुपर्ने बताउनुभयो।

समारोहमा विभिन्न इन्जिनियरिङ संघ-संस्थाका प्रतिनिधिहरू, सरकारी निकायका अधिकारीहरू तथा निर्माण क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। महाधिवेशनमा इन्जिनियरिङ क्षेत्रमा प्रविधिगत नवीनता, विकासका रणनीति तथा दिगो संरचना निर्माणका विविध पक्षमा छलफल गरिएको थियो।

प्रधानमन्त्रीको भनाइले नेपालमा संरचनागत विकासमा आधुनिक प्रविधिको उपयोग गर्नुपर्छ भन्ने धारणा पुनः पुष्टि गरेको छ। प्रविधिको प्रभावकारी उपयोगमार्फत दिगो विकास सम्भव हुने र नेपाललाई भौगोलिक अवस्थासँग मेल खाने संरचना निर्माणको बाटोमा अघि बढाउन इन्जिनियरिङ क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com