2

Logo २०८३ बैशाख १४ सोमबार
पत्रकार महिलाको क्षमता अभिबृद्दि तथा अन्तरक्रिया सम्पन्न

पत्रकार महिलाको क्षमता अभिबृद्दि तथा अन्तरक्रिया सम्पन्न


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
687

रुपन्देही ।

सञ्चार तथा सूचना मन्त्रालयको आयोजनामा बुटवलमा महिला पत्रकारिता क्षेत्रको विकास, प्रवर्द्धन तथा समसामयिक चुनौतीहरू समाधानका लागि क्षमता अभिवृद्धि तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। कार्यक्रममा महिला पत्रकारिताको वर्तमान अवस्था, पत्रकार आचारसंहिता, लैंगिक संवेदनशीलता, प्रविधिको भूमिकालगायत विविध विषयमा छलफल भएको थियो।

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष विजयराज अधिकारीले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेटको अभाव रहेको बताउनुभयो। पत्रकार आचारसंहिताको प्रभावकारिता बढाउन तथा पत्रकारिताको गरिमा कायम गर्न महिला र पुरुष दुवैको समान भूमिका आवश्यक रहेको उनको भनाइ थियो। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा लोभ वा स्वार्थका कारण प्रकाशित समाचारहरूले अन्तर्राष्ट्रिय स्तरमै पत्रकारिता पेशाप्रति जनविश्वास घटिरहेको उल्लेख गर्नुभयो । आम सञ्चार माध्यममा महिलाहरूलाई प्राथमिकता दिएर अघि बढाउँदा समाजमा सञ्चारमाध्यमप्रति बढ्दै गएको अविश्वास न्यूनीकरण गर्न सकिने उहाँको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पत्रकारिताले प्रशासनिक तथा राजनीतिक क्षेत्रलाई जवाफदेही बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। निष्पक्ष पत्रकारिताले मात्रै जनविश्वास जित्न सक्ने भन्दै कुनै पनि सञ्चारमाध्यम वा पत्रकारले राजनीतिक दलहरूको स्वार्थभन्दा माथि उठेर सत्यतथ्य रिपोर्टिङ गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार, दिगो विकासका लागि समाजमा विश्वसनीय पत्रकारिता आवश्यक छ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देही पत्रकारिता क्षेत्रका लागि एउटा आधारशिला बनेको बताउँदै यहाँका पत्रकारहरू प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रविधिमा आधारित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै सरकारले नवीनतम सञ्चार प्रविधिमा आधारित तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा प्रशिक्षक तथा सञ्चारिका लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरूको पृष्ठभूमि, पेशागत अवस्था र भोग्नु परेका चुनौतीहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपालमा महिला पत्रकारहरूको संख्यात्मक वृद्धि भए पनि उनीहरू अझै पनि पुरुषसरह अधिकार, अवसर तथा जिम्मेवारी पाउनबाट वञ्चित रहेको उल्लेख गर्नुभयो । अनमोलका अनुसार, महिला पत्रकारहरूलाई कार्यालयीन तथा फिल्ड रिपोर्टिङमा लैंगिक विभेद तथा असहज वातावरणको सामना गर्नुपरेको छ। सरकारलाई महिला पत्रकारहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन आग्रह गर्दै विशेष गरी ‘आमा सुरक्षा’ (महिला पत्रकारहरूको मातृत्व सुरक्षासम्बन्धी सुविधा) तथा ‘समान कामको समान पारिश्रमिक’ को सुनिश्चितता गर्न कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सञ्चार तथा सूचना मन्त्रालयका सूचना अधिकारी उपसचिव ममता बाँस्तोलाले पत्रकारिता क्षेत्रमा लैंगिक संवेदनशीलताको विषयलाई मुख्य चुनौती भएको बताउनुभयो । उहाँले सञ्चार गृहहरूलाई लैंगिक मैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै महिलाहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सञ्चार संस्थाहरूले आन्तरिक सुधार गर्नुपर्ने धारणा राख्नुभयो। साथै, पत्रकारितामा साइबर सुरक्षाको महत्त्व बढ्दै गइरहेकाले मन्त्रालयले साइबर ब्युरोसँग समन्वय गरी पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न पहल गर्ने बताउनुभयो ।

बाँस्तोलाले प्रस्तुत गरेको कार्यपत्रमा संवैधानिक व्यवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयन, सञ्चार माध्यमका कर्तव्य तथा महिला पत्रकारिताका समसामयिक चुनौतीहरूको विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सहभागिहरूले निष्पक्ष पत्रकारिताको महत्त्व, महिला पत्रकारहरूको अधिकार तथा सुरक्षाको आवश्यकता, प्रविधिसँग अभ्यस्त हुने आवश्यकताजस्ता विषयलाई प्रमुख प्राथमिकताका रूपमा राख्दै आगामी दिनमा थप नीतिगत सुधारका लागि सरोकारवाला निकायहरूलाई आग्रह गरेका थिए।कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com