श्रमिक महिलालाई स्वास्थ्य परामर्श र कानुनी शिक्षा
पाल्पा ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले श्रमिक महिलाहरुलाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षाबारे सचेतना दिएको छ । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेशा र व्यवसायमा सक्रिय श्रमिक महिलाहरुलाई शनिबार परामर्श तथा कानुनी सचेतना प्रदान गरेको हो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिनका लागि यस पटक श्रमिक महिलाहरुको उपस्थितिमा कार्यक्रम गरिएको बताउनुभयो । उहाँले न्यायिक समितिमा ज्याला नपाएको गुनासोहरु आउने गरेको र समस्याको समाधान गर्दै आएको बताउनुभयो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति संग सहकार्य गरेर गत वर्ष मजदुरहरुको विमा गरेको जानकारी गराउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले श्रमिक महिलाहरुलाई पेशा प्रति सम्मान गर्दै आफू कार्यरत क्षेत्रमा थप दक्षता हासिल गर्दै अघि बढ्न आग्रह गर्नुभयो । महिलाहरुलाई राज्यले अधिकार सम्पन्न गरेपनि कानुनी जटिलताले कार्यान्वयमा समस्या हुने गरेको खाणले बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले श्रम शोषण हुन नदिने र सहेर पनि नबस्ने प्रतिवद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले महिलाहरुमा हुने हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो । रामपुर नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले महिलाहरुको लागि राज्यले गरेको व्यवस्था संगै हिंसाको बारेमा जानकारी गराउनु भयो ।
पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका उपाध्यक्ष सुमन खाम्चाले महिला दिवसको अवसरमा शुभकामना दिदै श्रमिकहरुको लागि कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा आवद्ध महिला श्रमिकहरुको उपस्थिति रहेको थियो ।
उपप्रमुख बालकुमारी थापाको अध्यक्षता, कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत र कर्मचारी पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।