नारी दिवस पारेर महिलालाई आयआर्जनमा जोड्न रैनादेवीद्दारा सिलाईकटाई तालिम
पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ११५ औं नारी दिवसको अबसर पारेर पालिका भित्रका ५० महिलालाई आयआर्जनमा जोड्ने उद्धेश्य सहित नि:शुल्क सिलाईकटाई तालिम दिने भएको छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले महिला र किशोरीहरूलाई शिक्षा, स्वास्थ्य सेवा, सम्पत्ति अधिकार, राजनीतिक सहभागिता र कानुनी सुरक्षाको ग्यारेन्टी जस्ता मानवीय अधिकार प्राप्तिको लागि रैनादेवी छहरा गम्भिर रुपमा लागेको बताउनुभयो । आयआर्जनबाट बाहिर भएका महिलाहरुलाई सीप सिकाउन स्थानीय सरकार लागेको भन्दै भट्टराईले सीप प्रदान कार्यक्रम अन्तरगत सिलाईकटाई तालिम नि:शुल्क प्रदान गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष युवराज थापाले लैङ्गिक समानता प्राप्त गर्न समाजका हरेक क्षेत्रमा महिलालाई पुरुषसरह अवसर प्रदान गर्नु पर्ने कुरालाई जोड दिदै शिक्षा, रोजगारी, पारिश्रमिक, नेतृत्व र समाजका अन्य संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु आजको आवश्यक्ता रहेको समेत बताउनुभयो। उहाँले पालिका भित्रका महिलाहरुले केही न केही सिप सिकेर आर्यर्आजन गर्न सके सीपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने समेत बताउनुभयो ।
कार्यक्रम वडा अध्यक्ष गोविन्द रायमाझी,जिल्ला समन्वय समिति सदस्य बिष्णु कुमारी घिमिरे, निमिक्त प्रमुख प्रशासकिय अधिकृत जिवन राना अन्य जनप्रतिनिधि कार्यपालिका सदस्य र नारी दिवसको अवसर पारेर गाउँपालिकाको सभाहल अमलाबासमा पुगेका महिला अधिकारकर्मीले महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको भएता पनि सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य हुन नसकेको बताएका थिए ।
सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।कार्यक्रमको सञ्चालन गाउँपालिकाका महिला विकास कार्यक्रम प्रमुख छबिता देवकोटा गर्नुभएको थियो ।