कालीगण्डकी तट उत्तरगण्डकी मणिमुकुन्देश्वर धाम विराट्ज्ञान महायज्ञ सकियो
स्याङ्जा ।
कालीगण्डकी उत्तरबाहिनीधाम मणिमुकुन्देश्वर गुरुकुलम् चापाकोट नगरपालिका ८ दिम्पा स्याङ्जामा चलेको उत्तरगण्डकी मणिमुकुन्देश्वर धाम विराट् ज्ञान महायज्ञ सकिएको ल भएको छ । मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशाला स्थायित्वका लागि फागुन १३ गते देखि सुरु भएको यज्ञ शुक्रबार विधिवत् रुपमा समापन गरिएको हो ।
गुरुकुल शिक्षाको स्थायित्व, संस्कृत भाषा र संस्कृतिको संरक्षण, गण्डकी सभ्यता एवं मणिमुकुन्द सेनको ऐतिहासिकताको पुनर्जागरण र उत्तर गण्डकी धार्मिक क्षेत्रको राष्ट्र व्यापी प्रचार प्रसार र कालीगण्डकीको महत्वबारे जानकारी दिनका लागि महायज्ञ भएको थियो । यज्ञको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

मूलसमारोह समितिका संयोजक तिर्थराज बरालको अध्यक्षतामा भएको समापन कार्यक्रम गण्डकी प्रदेश सभाका राप्रपाका संसदीय दलका नेता एवं पूर्व मन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै उहाँले संस्कृति हराए मानव अस्तित्व नै संकटमा पर्ने बताउनुभयो । कालीगण्डकी उपत्यका आफैमा प्रकृतिको अनुपन उपहार मात्र नभै देवभुमि रहेको बताउनुभयो । विकासको लागि हाम्रो धर्म र संस्कृतिले कहिल्यै नछेकेको बताउनुभयो । उहाँले हाम्रो धर्म, संस्कार, संस्कृतिका लागि सोच्ने समय आएको बताउनुभयो । कालीगण्डकी डाईभर्सनको विरुद्धमा सदनमा निरन्तर आवाज उठाउने बताउनुभयो ।
महायज्ञको प्रमुख वाचक १८ पुराणका अध्यता पण्डित कुवेर सुवेदीले झाकी भाव कथा बाचन र कृष्णगण्डकीको महिमामा कथा बाचन गर्नुभयो । महायज्ञमा पंण्डित पूण्य प्रसाद उपाध्याय ज्यू मार्फत फागुन १३ देखि १६ सम्म शिव महिमा प्रवचन भएको थियो । १७ देखि २३ गते सम्म प्रमुख वाचक पण्डित कुवेर सुवेदी मार्फत संगितमय शैलीमा प्रवचन भएको थियो । यज्ञमा विभिन्न स्थान बाट सन्त एवं विद्वत्जनहरुको उपस्थिति रहेको थियो ।

१७ वटा पुराण प्रवचन भैसकेको धाममा यस पटक १८ औं स्कन्दमहापुराण प्रवचन भएको हो । १८ वटै पुराण जहाँ सम्पन्न हुन्छ त्यस ठाउँले पुण्यता प्राप्त गर्ने शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन् । यज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको बताउनुभयो । यज्ञमा उत्साहजनक रुपमा दान रकम संगै धान संकलन भएको थियो। प्रमुख वाचक सुवेदीलाई गुरुकुलको संरक्षकमा राखिएको छ । पारिश्रमिक वापत आयोजकले दिएको रकम उहाँले गुरुकुललाई नै हस्तान्तरण गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका सहसचिव एवं मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशालाका संस्थापक सचिव खेमराज आचार्यको स्वागत बाट सुरु भएको कार्यक्रममा आर्थिक संकलन उपसमितिका संयोजक गोपाल भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सदस्य गोकर्ण भट्टराईले गर्नु भएको थियो ।