गुरुकुल महायज्ञमा युवा नेता शेषकान्त पुरीद्दारा सबैभन्दा धेरै दान
स्याङ्जा ।
नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी शेषकान्त पुरीले चापाकोट नगरपालिका ८ मा रहेको मणिमुकुन्देश्वर वेदविद्याश्रम गुरुकुल पाठशालाई व्यक्तिगत १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गर्नुभएको छ ।
चापाकोट नगरपालिका ८ उत्तरगण्डकी मणिमुकुन्देश्वर मन्दिर तथा गुरुकुलमा संचालित १८ महापुराण अन्तर्गत १८ औँ वर्ष समापनमा आयोजित स्कन्द महापुराण उत्तरगण्डकी मणिमुकुन्देश्वर धाम विराट् ज्ञान महायज्ञ २०८१ को अक्षयकोष स्थापनार्थ उहाँले रकम सहयोग गर्नुभएको हो ।

पुरी चापाकोट नगरपालिका ५ का स्थानीयबासी हुनुहुन्छ । पछिल्लो समय व्यवसाय सँगसँगै सामाजिक गतिविधिमा समेत सक्रिय भएर लाग्नुहुने उहाँले कृष्णगण्डकीको महिमा अथाह रहेको बताउनुभयो । धार्मिक कर्म प्रबचन र यस्ता यज्ञले मानिसमा ज्ञान र उर्जा प्राप्त हुने भन्दै उहाँले मणिमुकुन्देश्वर धामको विकास र गुरुकुलको उत्थानमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
एक प्रसङ्गमा भगवान् शिवको शिर शित्तल बनाउने जल आम नागरिकको आस्था र महिमा कृष्णगण्डकीको पथान्तरण यस भेगलाई सह्य नहुने पुरीको धारणा छ ।

चापाकोट नगरपालिका ८ उत्तरगण्डकी मणिमुकुन्देश्वर मन्दिर तथा गुरुकुलमा उत्तरगण्डकी जाऔँ, पुण्य कमाऔँ, संस्कृत भाषाको संरक्षण गरौँ भन्ने नाराका साथ फागुन १३ गतेदेखि सुरुभएको विराट् ज्ञान महायज्ञ २०८१ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा प्रखरबक्ता प. कुबेर सुबेदीले फागुन १७ देखि कथाबाचन गर्नुभएको छ ।

