मगर दिवसमा पाल्पाका १० वटै स्थानीय तहमा बिदा
पाल्पा ।
पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय मगर एकता दिवसको अबसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन् । पाल्पा जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले सूचना जारी गर्दै ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते बिदा दिएको हो ।
मगर जातिको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर बिगतदेखि नै सबै पालिकाले बिदा दिदै आएका छन् ।
जिल्लाको रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाले सोमबार, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले मङ्गलबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिएको जनाएको छ । तिनाउ गाउँपालिकाले गत फागुन ६ गते कार्यपालिका बैठकको निर्णयसँगै सूचना जारी गरी बिदाको घोषणा गरेको थियो ।
पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहदै आएको छ । मगर दिवसमा जिल्लाका सबै स्थान, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदै आएको छ ।
निस्दी गाउँपालिकाले ७ वटै वडामा दिवस विशेष कार्यक्रम हुने भएकाले सहभागी भएर हर्ष उल्लासकासाथ मनाउन आग्रह गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा कुल २ लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर जाति रहेका छन् ।
निस्दी गाउँपालिकामा ८७ प्रतिशत, पूर्बखोला गाउँपालिकामा ८४ प्रतिशत र माथागढी गाउँपालिकामा ७५ प्रतिशत मगरहरुको बासोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन सम्पन्न भएको संझनामा मगर समुदायले मगर दिवसको रुपमा फागुन १५ लाई मनाउदै आएका छन् ।