2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाका शिवालयमा बिहानैदेखि अबेरसम्म भक्तजनको घुईचो

पाल्पाका शिवालयमा बिहानैदेखि अबेरसम्म भक्तजनको घुईचो


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१
841

पाल्पा ।

महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लाग्यो ।

तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, रामपुरको सिद्धबाबा भूजात, तालपोखरा, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा लगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको हो ।

तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा बिहान ३ बजेदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँ तानसेन र आसपासबाट भक्तजन पुगेका छन् । यस्तै तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुँइचो लागेको हो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो।

यस्तै महाशिवरात्री पर्वका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुँइचो लागेको छ । यता प्रभासमा पनि बिहानैदेखि भक्तजन लाइनमा बसेर पूजा गरिरहेका छन् । प्रत्येक वर्ष यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ ।

शिवरात्रिको दिनमा भगवान् शिवको पूजाआजा र भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान शिवलाई बेलपत्र, भाङ, धतुरो चढाउने परम्परा छ । हिन्दु धर्ममा ‘देवका पनि देव’का रूपमा भगवान् शिवलाई पूजाआजा भजनकीर्तन गर्ने परम्परा रहेको छ । शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले शिवरात्रि पर्व मानाउँदै आएका पौराणिक कथन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com