नगरपालिकाले नगरपालिका कार्यालयबाट प्रवाह गर्ने सबै सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसावले टाढा रहेको वडालाई मध्यनजर गर्दै मंगलबार वडा नं. ९ मा यसबर्ष पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
नगरबासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यही फागुन १२ गते वडा नम्बर १ मा पनि शिविर सञ्चालन गर्ने जानकारी लिनुभयो । यस वर्ष नगरपालिका कार्यालयबाट दुरीका हिसाबले टाढा रहेका तीन वडामा शिविर पुर्याउने लक्ष्य राखिएको पण्डितले बताउनुभयो ।
शिविरमा योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण, स्वस्थ्य परिक्षण सहितको सेवा प्रदान गरेको थियो ।
आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा भएको शिविरमा ६ सय १० सेवाग्राहीले सेवा लिएको नगरपालिकाका योजना शाखा प्रमुख बिक्रम बस्नेतले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २१३ जना, आँखा तथा कान जाँच ५२२ जना, दन्त परिक्षण २१५, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ३२ जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा ११ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ११ जना, योजना सम्झौता ७, व्यवसाय नविकरण ८ जना र बैंक खाता खोल्ने १४ जना, पशु सेवा १४५ र कृषि सेवा १०८ जनाले सेवा लिएको बस्नेतले बताउनुभयो । साथै शिविरमा २५ जना कृषकले माटो परिक्षण गराएका थिए । आँखा परिक्षण गराउनु भएका मध्ये ४ जनामा मोतियाविन्दुको समस्या देखिएको कालीगण्डकी आँखा तथा नाक उपचार केन्द्रका सुन्दर श्रेष्ठले बताउनुभयो ।
शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, पाल्पा मेट्रोसिटी अस्पतालको समन्वमा सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाले नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू घुम्ती शिविर मार्फत आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता गर्नुका साथै र बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले बैंक भन्दा पर रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ।