मुना मेमोरियल ट्रष्टद्दारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान
पाल्पा ।
रामपुर नगरपालिका १० मा मुना अधिकारी पौड्यालको नामबाट संचालित मुना मेमोरियल ट्रष्टले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा उहाँका घरपरिवार र माइतिपरिवारबाट स्थापित ट्रष्ट मार्फत जनकल्याण माध्यमिक विद्यालय रामपुर १० रामटार पाल्पाकी छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।
सो विद्यालयबाट प्रत्येक बर्ष एसइई परिक्षामा उत्कृष्ट जिपिए सहित उत्तिर्ण हुन सफल विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसबर्ष सावित्री गैरे(सरलादेवी)लाई छात्रवृत्ति स्वरुप ७ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । ट्रष्टले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गरेर एस ई ई मा उत्कृष्ट अंक सहित उत्तिर्ण छात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि १३ औँ स्मृति दिवस तथा ट्रष्टको वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले मुना मेमोरियल ट्रष्टले समाज र शिक्षा क्षेत्रमा योगदान पुर्याएको बताउनुभयो । एसईईमा उत्कृष्ट ग्रेडका साथ उत्तिर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर थप हौसला र उत्प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो । सम्मानित विद्यार्थी गैरेलाई उत्कृष्ट शिक्षा हासिल गर्नका लागि लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.१० का वडा सदस्य पिताम्बर ओस्तीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई सहित शुभकामना दिंदै ट्रष्टले सञ्चालन गर्ने कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । यस्तै जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द भण्डारीले मानवसेवाका लागि सबैमा सेवा भाव हुन जरुरी रहेको भन्दै छात्रवृत्ति कार्यक्रमलाई विद्यालयमै वितरण गर्न सके थप प्रभावकारी हुने बताउनुभयो ।

सिर्जना आमा समूहका पूर्व अध्यक्ष धन कुमारी चापागाई ,दुर्गा देवि भण्डारी, समाजसेवि टुंगराज पौडेल,पार्वती न्यौपाने, नोलराज भण्डारीले बोल्दै ट्रष्टले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेर प्रेरणा सहित हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सम्मानित विद्यार्थी सावित्री गैरे (सरलादेवी)ले ट्रष्टले प्रदान गरेको छात्रवृत्तिले आगामी शैक्षिक यात्राका लागि थप प्रोत्सहान र हौसला मिलेको साथै अध्ययनमा सघाउ पुर्याउने बताउनुभयो । मुना मेमोरियल ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीले समाजसेवाका लागि सबै अग्रसर भएर लाग्नु पर्ने भन्दै आगामी दिनमा विभिन्न कार्यक्रमका साथ अगाडी बढ्ने बताउनुभयो ।
साथै ट्रष्ट र सिर्जना आमा समुहले नगरउपप्रमुख बालकुमारी थापालाई सम्मान गरेको थियो ।
मुना मेमोरियल ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रम सिर्जना आमा समूहका अध्यक्ष तथा ट्रष्टका सदस्य सावित्रा अधिकारीको स्वागतबाट शुरु भएको हो । कार्यक्रमको सञ्चालन ट्रष्टका सचिव उपेन्द्र अधिकारीले गर्नु भएको थियो ।कार्यक्रमका अवसरमा ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीले जनकल्याण माध्यमिक विद्यालयको पुस्तकालयका लागि १७ वटा पुस्तक हस्तान्तरण गर्नुभयो ।