रामपुर महोत्सवमा रौनक बढ्दै, दैनिक चर्चित कलाकारको प्रस्तुति
पाल्पा ।
पाल्पाको रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा दैनिक दिन घर्किदै जादा रौनक बढ्दै गएको छ । दैनिक राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकमा उत्साह बढाएको छ । रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा बुधबार पनि दर्शकहरुको घुँईचो लागेको थियो ।
गत माघ १५ देखि रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको मेलामा पछिल्लो पुस्तामा चर्चित कलाकार प्रकाश दुतराज लगायतको प्रस्तुतिले माहोल तातेको थियो ।
कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ चलिरहेको मेलामा दर्शकको संख्या बढ्दै जादा मेला स्थल खचिखचाउ बन्दै गएको छ । मेलामा ४ सय ५७ भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघले जनाएको छ । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ ।
साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता आकर्षणको रुपमा रहेको छ ।
महोत्सवमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता चलिरहेको छ । मेलामा बुधबार प्रकाश दुतराजले रेशम, रिमै, जुन माया, घरकता हो बैनीको, बैनी झ्यालैमा, जाम भो माईली लगायतका गीत प्रस्तुत गरेका थिए । गायिका कोपिला न्यौपाने, आधुनिक गायक संजिव सिं राना, डान्सर सरिता दान्कुटी सहित हास्य कलाकार कमल भट्टराई र विजय बम्डेलको प्रस्तुति थियो भने रामकृष्ण थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।