मगरेमा भीमादेवी कोटघर शिलान्यास
पाल्पा ।
रामपुर नगरपालिका वडा नं. १० मगरेमा भिमादेवि कोटघर मन्दिरको शिलान्यास भएको छ ।
समुदायमा धार्मिक सहिष्णुता, एक आपसमा मेल र सामाजिक कार्यका लागि वडा कार्यालयको सहयोग तथा चन्दादाता र जनश्रमदानमा मन्दिर निर्माण हुने भएको हो ।
मन्दिरको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले शिलान्यास गर्दै धार्मिक सम्पदाको संरक्षणले धर्म संरक्षण मात्र नभई यसले संस्कारयुक्त समाज निर्माण गर्न भूमिका खेल्ने बताउनुभयो । मगरे गाउँलाई पर्यटकीय नमूना गाउँ बनाउनु पर्नेमा जोड दिदै उहाँले सडक पहुँचको हिसाबले कष्टकर रहेकोले सरल र सहज रुपमा सडक पहुँच सम्म जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष तोयानाथ सारु स्थानीय स्तरमा रहेका हरेक धार्मिक सम्पदा र संस्कृतिको संरक्षण गर्नु जनप्रतिनिधिको जिम्मेवारी रहेकोले वडाका धार्मिक महत्व बोकेका क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निर्माण पश्चात कोटघरको संरक्षण र निरन्तरताका लागि स्थानीयले सक्रियताका साथ भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । वडा अध्यक्ष सारुले मगरे गाउँलाई पर्यटकीय क्षेत्र होमस्टेको रुपमा पनि विकास गर्न सके राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।
भिमादेवि कोटघर मन्दिर निर्माण समितिका अध्यक्ष विष्णु बहादुर कुँवरले गाउँमा रहेको धार्मिक सम्पदाको संरक्षण संगै स्थानीयको आवश्यकतालाई परिपूर्ति गर्न माग गर्नुभयो । यस्तै विनोद कुँवरले गाउँ सम्म पुग्नका लागि सहज सडकको विस्तार तत्काल गर्नुपर्ने, खानेपानी, विद्यालयको संरचना पुननिर्माण गर्नु पर्ने ,एकीकृत बंगुर खोर निर्माण गर्नु पर्ने लगाएतका माग राख्नु भएको थियो ।
कोटघर मन्दिर निर्माण समितका अध्यक्ष विष्णु बहादुर कुँवरको अध्यक्षतमा भएको शिलान्यास कार्यक्रम विनोद कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको हो । कार्यक्रमको सञ्चालन चित्र कुँवरले गर्नु भएको थियो । भिमादेवि कोटघर रामपुर नगरपालिका वडा नं.१० को २ लाख ५० हजार रुपैयाँ, चन्दादाताको सहयोग र जनश्रमदानमा निर्माण सम्पन्न गरिनेछ ।