चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला शुरु, स्थानीय उत्पादन र पर्यटन प्रबर्द्धनमा जोड
पाल्पा ।
चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला सुरु भएको छ । “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नारा सहित पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहीले उद्घाटन गर्दै उद्योग र रोजगार नभई आर्थिक विकास नहुने बताउनुभयो ।
उहाँले देशमा सुशासन कायम गर्ने संकल्प सहित बर्तमान सरकार लागेको बताउनुभयो । पुराना कानुन सम्शोधन गर्दै नयाँ ऎन निर्माण गरि लाखौ बिदेशिने नागरिकलाई रोक्न पहल गरेको बताउनुभयो । बन ऎनलाई संशोधन गरेर नेपाल सरकारले सुरक्षा दिलाउदै उद्योग स्थापना गरि लगानी मैत्री र निजि क्षेत्रलाई जोड्दै समृद्धिको बाटोमा लागेका छौ उहाँले भन्नुभयो ।

महोत्सव उद्घाटन कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले स्थानीय प्रबर्द्धन, कृषि, कुटिर उद्योग र विभिन्न समुदायको कला सस्कृति संरक्षणमा यस महोत्सव केन्द्रित भएको बताउनुभयो । व्यबसाय उजागर र बहुउद्देश्य आफ्नै भवन निर्माण गरि अघि बढेको संघले यही बर्ष महासंघको सदस्यता पाएको उल्लेख गर्दै कालीगण्डकी उपत्यकाको समग्र विकासको लागि रामपुर उद्योग वाणिज्य संघ लागेको बताउनुभयो ।
प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य वीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल,
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा,
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी, नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, अन्तर्राष्ट्रिय बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन श्रेष्ठ, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष कुल प्रसाद न्यौपाने,पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापाले महोत्सव सफलताको शुभकामना दिदै स्थानीय उत्पादन र स्थानीय रोजगार वृद्धिमा उद्योग वाणिज्य संघ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

माघ १५ देखि शुरु भएको महोत्सव आगामी माघ २७ सम्म चल्नेछ । ३ लाख दर्शक र १ करोड २० लाख आम्दानी गर्ने लक्ष्य छ । मेला उद्घाटनका अबसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रिता थापाको प्रस्तुति थियो । मेला उद्घाटनका अबसरमा कलाकार उद्दीराम खड्काले मयुर नाच प्रदर्शन गर्दै प्रमुख अतिथिलाई मयुरबाट पुष्पगुच्छा दिइएको थियो ।