चौथो रामपुर महोत्सव तथा व्यापार मेला भोलिदेखि, तयारी पुरा
पाल्पा ।
माघ १५ गतेदेखि पाल्पाको रामपुरमा शुरु हुने चौथो रामपुर महोत्सब तथा व्यापार मेलाको तयारी पुरा भएको छ ।
उद्योग वाणिज्य संघ रामपुरको आयोजनामा हुने महोत्सव स्थलमा सोमबार अबेर भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले प्रमुख अतिथि, स्टल देखि सचिवालयको काम लगभग पुरा भएको बताउनुभयो । स्टललाई थप व्यवस्थापन, लाइटको व्यवस्था रातीसम्म हुने र अपुग भए मंगलबार बिहान सबै तयार गरि दिउँसो मेला उद्घाटन हुने उहाँले बताउनुभयो । “आर्थिक विकासका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारा सहित रामतुलसी नमुना माध्यमिक विद्यालयको खेलमैदानमा हुने मेलाले कालीगण्डकी बेशी क्षेत्रका स्थानीय उत्पादन, कृषि, पर्यटन, कुटिर उद्योग, व्यवसायको प्रबद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान बढाई आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
पाल्पा जिल्ला सहित गण्डकीबेशीमा उत्पादित बस्तु र सेवाको प्रतिस्पर्धात्मक बजार व्यवस्थापन, समुचित बजारीकरण गर्न मद्धत पुगने अपेक्षा लिइएको उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । उहाँले ३ लाख दर्शक भित्र्याउने र १ करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
आगामी माघ २७ सम्म १३ दिन चल्ने चौथो संस्करणको रुपमा हुन लागेको मेलामा राष्ट्रिय अन्तराष्ट्रिय उत्पादनको प्रद्र्धशनी, महिला उद्यमी, घरेलु उद्योग, कुटिर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित बस्तुको प्रर्दशनीका साथै धार्मिक र ऐतिहासिक र पर्यटकीय स्थलहरुको फोटो प्रद्र्धशनी हुनेछ । ब्राह्मण, मगरी, नेवारी, चेपाङ समुदायमा प्रचलनमा रहेका मौलिक खानाका परिकार सहितको स्टल रहनेछ । मेलामा आकर्षणको रुपमा खुला क्लब स्तरीय भलिवल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता हुनेछ भने मेलालाई अझ भिन्न बनाउन अण्डर वाटर फिस टनेल, उखु पेल्ने र तातो उद्यौरो र खुदो खान पाइने गरि प्रर्दशनीमा समेटिएको छ ।
मेलामा ३ सय ५० बढी स्टल हुनेछ । बालउद्यानका धेरै किसिमका खेल खेल्न पाइने गरि व्यवस्थापन गरिएको छ । महोत्सवलाई आकर्षक र सफल बनाउन राष्ट्रिय र स्थानीय पहिचान बनाएका कलाकारको दैनिक प्रस्तुति रहनेछ । यस भेगमा रहेका विभिन्न समुदायमा प्रचलनमा रहेका बालन, चुट्का, लाखे, सोरठी, कौरा, सालैजो लगायतका कला संस्कृति सहित विभिन्न जाति समुदाय, समुहद्धारा झाँकी सहित उद्योग वाणिज्य संघको कार्यालय भवन नहरअफिसबाट निस्केर बजार परिक्रममा गरि मेला स्थलमा र्याली पुग्नेछ ।
यस क्षेत्रको समग्र विकासबाट नै आर्थिक सामाजिक रुपान्तरण हुने विश्वास लिदै प्रतिष्ठित उद्योगीलाई भित्र्याउने गरि महोत्सवमा बिचार बिर्मश हुनेछ । मेलामा प्रबेश टिकट १ सय रुपँया र विद्यार्थी, ८० बर्ष उमेर मुनिका जेष्ठनागरिकलाई सहुलियत टिकट ५० रुपँया निर्धारण गरिएको छ । परिचय पत्रका आधारमा ८० बर्ष माथिका र अपाङ्गता भएका नागरिकलाई निशुल्क प्रबेश छ । साथै विशेष पासको व्यवस्था पनि गरिएको छ ।