माघ २२ देखि रामपुर नगरपालिकाका छात्रा तथा किशोरीमा लगाईने भयो एचपिभी खोप
पाल्पा ।
रामपुर नगरपालिकाले किशोरीहरुलाई लगाउने (ह्युमन प्यापिलोमा भाइरस) एचपिभी खोप सम्बन्धी सरोकारवालालाई अभिमुखिकरण गराईएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर खोप समन्वय समिति, सञ्चारकर्मी र विद्यालयका प्रध्यानध्यापकहरुलाई एचपिभी खोपबारे जानकारी दिदै पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि जिल्लामा पहिलो चरणमा रामपुर नगरपालिकाका किशोरीहरुलाई खोप दिन लागिएको हो ।
जिल्लामा आगामी माघ २२ देखि माघ २९ गतेसम्म पहिलो चरण र माघ २८ गतेदेखि दोस्रो चरणको खोप सञ्चालन हुनेछ । विद्यालयमा छात्रालाई लगाइने खोप कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समुहका किशोरीलाई यो खोप लगाईनेछ ।
खोप तालिका यस प्रकार छ

रामपुर नगरपालिकाका ६० विद्यालय मध्ये २९ विद्यालयका सो उमेर समुहका १ हजार ९ सय ४४ विद्यार्थीलाई खोप लगाईने रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले जानकारी दिनुभयो । खोप अभियान सफल बनाउन शाखाले स्वास्थ्यकर्मी, पत्रकार तथा सञ्चारकर्मी, विद्यालयका प्रध्यानध्यापक तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वंयम्सेविकालाई अभिमुखीकरण गराएको छ । खोपमा खटिने ३० जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ ।
विद्यालयमा अध्ययनरत छात्राहरुलाई माघ २२ देखि २९ सम्म तोकिएको दिन तोकिएको विद्यालयमा पुगेर खोप लगाउने तयारी स्वास्थ्य शाखाले गरेको छ भने छुटपुट विद्यार्थी तथा विद्यालय बाहिरका किशोरीलाई वडाको स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिनेछ ।
रामपुर नगरपालिकाका नर्सिङ अधिकृत पुनम धितालले अभिमुखीकरणमाएचपिभी खोप अभियानबारे जानकारी दिदै यस अघि देश सहित विश्वभर पछिल्लो समय बृद्धि भएको पाठेघरको मुखको क्यान्सर रोग नियन्त्रण तथा रोकथामलाई नेपाल सरकारले विभिन्न परिक्षण पश्चात् ल्याएको यो खोप लगाएर आफ्ना सन्ततिमा हुनसक्ने जोखिमबाट जोगिन सबैमा आग्रह गर्दै खोप लगाउन छात्रा एंव किशोरीहरुमा अनुरोध गर्नुभयो ।
सरकारले गतबर्ष ३०—३५ बर्ष उमेरका महिलामा स्किनिङ मार्फत पाठेघरको मुखको क्यान्सर परिक्षण गरेको थियो । यसबर्ष देशभरका कक्षा ६ देखि १० सम्मका १० बर्षदेखि १४ बर्ष उमेर समुहमा पर्ने किशोरीलाई खोप दिन लागिएको हो । एचपिभी खोपलाई नेपाल सरकारले आगामी बर्षदेखि अन्य खोप जस्तै नियमित खोपमा समाबेश गर्ने गरि तय गरेको छ ।
शाखाका अनुसार रामपुर नगरपालिका वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १५३ जना, ४ मा १११ जना, ५ मा ७२६ जना, ६ मा २१८ जना, ७ मा १४३ जना, ८ मा १४५ जना, ९ मा १०९ जना र १० नम्बर वडामा २१३ जना छात्रालाई खोप दिइनेछ । कार्यक्रम रामपुर नगरपालिका प्रमुख एवं नगर स्तरीय खोप समिति संयोजक रमण बहादुर थापाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेको सञ्चालनमा भएको हो ।