खोला नियन्त्रणका लागी स्याङ्जामा तटबन्ध
स्याङ्जा ।
जिल्लाको वालिङ नगरपालिका–८ स्थित ढाबखोला नियन्त्रणको काम सुरू भएको छ । खोलाले बर्सेनि खेतीयोग्य जमिन डुबाउने र कटानबाट सास्ती खेप्दै आएका यहाँका उपभोक्तालाई खोला नियन्त्रण योजना सुरू भएसँगै सहज हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा वालिङ–८ भीमटारीस्थित नेपाल आदर्श स्कुलबाट काफलडाँडा जाने सडकको कल्भर्टसम्म खोला नियन्त्रणको काम सुरू भएको हो ।
खोला नियन्त्रणका लागि चालु आवमा रू ८६ लाख ५२ हजार चार सय २९ लागत अनुमान रहेको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार लागत अनुमानभन्दा झण्डै ३७ दशमलव सात प्रतिशत घटेर कूल रू ५४ लाख ४० हजार तीन सय सातमा ठेक्का सम्झौता भई काम अगाडि बढेको हो ।
गत जेठमा लोकप्रिय निर्माण सेवा वालिङसँग सम्झौता भएको उक्त आयोजना आगामी जेठसम्म सम्पन्न हुनेछ । यस वर्ष तीन सय १० मिटर लम्बाइमा खोला नियन्त्रण गरिने प्रमुख आचार्यले बताउनुभयो ।
हिउँदको समयमा खोलाले क्षति नपु¥याए पनि वर्षामा खेतीपातीमा क्षति पु¥याउने र जमिनसमेत कटान गर्दै आएको उपभोक्ता रन्नता बगालेले बताउनुभयो । “वर्षाको समयमा खोला खेतैखेत हिँड्दा लगाएको धान बगाएर लैजाने समस्या धेरै भयो’, उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ चैतमा लगाएको धान पाकेर थन्क्याउन नपाउँदै, कहिले वर्षायाममा धान रोपेपछि खोलाले कैयौँ पटक रोपो बगाएर लगेको छ ।’ खोला नियन्त्रणको काम सुरू भएपछि अहिलेसम्म पाएको सास्ती हटेर जाने उनले विश्वास व्यक्त गर्नुभयो ।
खोलाको दायाँबायाँको जमिन चैते र वर्षे धान उत्पादनका लागि उपयुक्त मानिन्छ । पछिल्ला वर्षमा खोला पसेर लगाएको धानबालीमा क्षति पु¥याउन थालेपछि कतिपय किसानले खेती गर्नै छाडेर जमिन बाँझो राख्दै आएका छन् । खोला नियन्त्रणको काम सम्पन्न भएपछि बाँझै रहेका जमिनमा पुनःखेती लगाउन सकिने स्थानीय बताउँछन् ।