विद्यालयमा खाना महोत्सवः विद्यार्थीलाई जगाउदै रामतुलसी नुमना
पाल्पा ।
विद्यालय पढ्ने विद्यार्थीलाई विविधतामा एकताबारे जानकारी दिन विद्यार्थीकै अग्रसरतामा पाल्पाको नमुना विद्यालय रामतुलसी नमुना माध्यमिक विद्यालयमा खाना महोत्सव गरिएको छ । विद्यार्थीलाई मौलिक परिकार र सांस्कृतिक विविधताबारे जानकारी दिन विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खाना महोत्सवको आयोजना गरेको हो ।

विद्यालयको हाताभित्र आइतबार विदाको दिन भएपनि विद्यार्थीहरु विहानदेखि परिकार पकाउनमा व्यस्त देखिन्थे । गुरुहरुको सहयोग समन्वयमा विद्यार्थी आफै जुटेर विभिन्न परिकार बनाउन व्यस्त थिए । विद्यार्थी पछिल्लो समय किताबी ज्ञान र प्रविधिको प्रयोगमा मौलिकता बिर्सदै गएको र पछिल्लो पुस्ताले मौलिकता छोप्नै नसक्ने नचाहने स्थिति पनि देखापरेकाले बिद्यार्थीमा आफ्नोपन र सहकार्यता बढाउन फुड फेस्टिबलको आयोजना गरेको विद्यालयले जनाएको छ ।

कक्षा ६ देखि माथिका विद्यार्थीहरुले विद्यालयको हाताभित्र लहरै रहेको स्टलमा सिस्नो, बटुक, यमरी, सेलरोटी, चुकाउनी, फुरौला, खिर, अचार, भुटेको मकै देखि चना, मःम, अचार, जेरी, मिठाई, नमकिन सहितका परिकार बनाउन र आफै बिक्री बितरण गर्न व्यस्त थिए । यसमा कक्षा शिक्षकले सघाइरहनुभएको थियो । विद्यालय पुगेका अभिभावक र अतिथिले परिकार अनुसारको स्वाद लिनु भएको थियो ।

विद्यार्थीलाई मौलिक खानाको परिकार, भान्साको प्रयोग, बिक्री र सहकार्यता सीप सिकाउन अघिल्ला बर्ष भन्दा फरक कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । यसले खाना तयार गर्न, सजाउन, बिक्री गर्न, व्यवस्थापन र बजारीकरण जस्ता सीपले आत्मविश्वास बढाउने उहाँले बताउनुभयो । महोत्सवमा २६ वटा खानाका परिकारहरुको स्टलबाट विद्यार्थीले विभिन्न परिकार बनाएर बिक्री गरिरहेका थिए । स्टलहरुमा विभिन्न समुदायको मौलिक खाना संगै आधुनिक खानाका परिकार राखिएको सहायक प्रधानाध्यापक पूणर्चन्द्र घिमिरेले बताउनुभयो ।

कृषिबाली विज्ञानका विद्यार्थीले उत्पादन गरेको अचार, गोलभेँडा विक्री समेत भएको छ । विद्यार्थीले कृषि प्रविधिको नमुना प्रदर्शन, विज्ञानका सामाग्री प्रदर्शन समेत गरेका थिए । वार्षिकउत्सवको अबसरमा भएको खाना महोत्सवको बिशिष्ट व्यक्तिहरुले अबलोकन गर्नुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, अन्तराष्ट्रिय वि. पि.चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना सहित वडाअध्यक्ष, विद्यालय सञ्चालक समिति, अभिभावक संघ, अभिभावकले खाना महोत्सबको अवलोकन गर्नु भएको छ ।
पहिलो दिन झण्डै ५ हजार बढीले अवलोकन गरेको विद्यालयले जनाएको छ । सोमबार वार्षिक उत्सव समारोहको अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले खानाका परिकार तयार गर्ने विद्यालयले जनाएको छ । साताव्यापी विविध कार्यक्रम गर्दै आएको विद्यालयले सोमबार वार्षिक उत्सवको औपचारिक कार्यक्रम सँगै बार्षिकोत्सव कार्यक्रम सकिने जनाएको छ । यसको पुर्वसन्ध्यामा आइतबार बाकी विविध क्रियाकलाप सम्पन्न गरेको छ । विद्यालयमा स्थापना भएका ३६ वटा अक्षयकोष मार्फत विद्यालयका ९४ जना विद्यार्थीहरुलाई विविध छात्रवृति प्रदान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता, शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम भएको हो । विद्यार्थीहरुले नाटक देखाएका थिए भने सांगितिक प्रस्तुतिले रमाइलो बनाएका थिए । आइतबार साझ विद्यालयमा दिप प्रज्वलन गरिएको छ ।


