नेपाल पत्रकार महासंघमा ७० बर्षपछि महिला नेतृत्व, अध्यक्षमा निर्मला शर्मा
काठमाडौं ।
नेपाली पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मतगणनाको प्राप्त परिणाम अनुसार अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको हो ।
महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचनको मतपरिणामको अन्तिम नतिजा आज बिहान सार्वजनिक गर्ने जनाएको छ ।
शर्मा संचारिका समुहको पूर्व अध्यक्ष हुन् । महासंघको जिम्मेवारी लिन गत निर्वाचनमा उम्मेद्बारी दिएपनी युनियन र प्रेस सेन्टरको गठबन्धन हुँदा उनी पराजित भएकी थिइन् । शर्मा कान्तिपुर टेलिभिजनको समकोण चर्चित कार्यक्रम प्रस्तोता हुन् ।
उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई हजार बढी मतले पराजित गरिन् । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट शर्मा अध्यक्षमा बिजयी भएकी हुन् ।
केन्द्रिय पदाधिकारीहरु र केन्द्रीय समितिका सदस्यहरुमा पनि प्रेस युनियन र प्रेस चौतारीका उमेद्वारहरुले जितेका छन् । जस अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य बिजयी भए। नेपाल प्रेस युनियनमा लामो समय देखि क्रियाशील आचार्य चितवन निवासी हुन् र आचार्य प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन्।
यसैगरी उपाध्यक्षमा कैलालीका उमीद बागचन्दले बिजय प्राप्त गरे । लामो समय बिबिसी नेपाली सेवामा काम गरेका बागचन्द सुचनाको हकको अभियन्ता संगै राष्ट्रिय संजालका संयोजक पनि हुन्। उनि पनि प्रेस युनियन निकटका हुन् र नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन्।
समाबेशी उपाध्यक्षमा नितु पण्डित छन् । प्रेस चौतारीको तर्फबाट उमेद्वार नितु संचारिका समूहको पूर्व अध्यक्ष समेत हुन् ।
महासंघको महासचिवमा रामप्रसाद दाहालले जिते । हाल रातो पाटी डटकमका सम्पादक रहेका दाहाल महासंघको पूर्व सचिब पनि हुन्। उनले न्युनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिलको सदस्य रहेर पनि काम गरिसकेका छन । श्रमजीबी पत्रकारको एजेन्डा बोक्ने पत्रकारको रुपमा उनी चिनिन्छन।
कोषाध्यक्ष पदमा रामकृष्ण ज्ञवाली आएका छन् । ज्ञवाली प्रेस चौतारीको तर्फबाट उमेद्वार बनेको हुन्। उनी महासंघको केन्द्रीय सदस्य र कास्की शाखाको अध्यक्ष भएर काम गरिसकेका छन ।
यस्तै विभिन्न सचिब पदमा र अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन अर्थात नेपाल प्रेस यनियन र प्रेस चौतारीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचनमा कांग्रेस एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो भने प्रेस सेन्टर र प्रेस संगठन सहितका केही पत्रकार संगठनले पनि तालमेल बनाएर निर्वाचनमा भाग लिएका थिए ।
यसरी तालमेल हुँदा प्रेस युनियनबाट बिद्रोह गरि अध्यक्षमा बागी उम्मेदवारी दिएका रमेश विष्टलाई प्रेस सेन्टर नेतृत्व लगायतले साथ दिएका थिए यसै गरि बरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टरका रोशन पुरी लगायतका उमेद्वार रहेका थिए ।