पत्रकार महासंघ निर्वाचन : पाल्पामा प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल विजयी भएको हो ।
अन्य पदमा सर्वसहमति भएको जिल्ला महासंघको अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको थियो । शुक्रवार भएको मतदानमा संयुक्त प्यानलतर्फबाट अध्यक्ष पदका उम्मेदवार कमलराज तिमिल्सेनाले ५२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रेस सेन्टरका कृष्ण दर्नालले ११ मत प्राप्त गर्नुभयो। त्यसैगरी निर्वाचन भएको महासंघको सचिव पदमा संयुक्त प्यानलका उम्मेदवार रामचन्द्र रायमाझी ४९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष रहनुभएका स्वतन्त्र पत्रकार भोजराज भट्टराईले १३ मत प्राप्त गर्नुभयो ।
कार्यसमिति दलित सदस्यतर्फ भएको निर्वाचनमा हरिबहादुर विक ५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रेस सेन्टरका डोलबहादुर विकले १० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक गोविन्द भट्टराईले बताउनुभयो ।
अन्य पदमा भने यस अघि नै निर्विरोध चयन भइसकेको थियो । महासंघको उपाध्यक्षमा खुलातर्फ मुक्तिप्रसाद न्यौपाने, महिलातर्फ बन्दना पोखरेल, सहसचिवमा खुलातर्फ दुर्गेश मल्ल, सहसचिव समावेशी दानबहादुर हिस्की, कोषाध्यक्षमा विजय वौडेल निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिमा खुला सदस्यमा नेत्र गैरे, दयाराज न्यौपाने, सुनिल कार्की, दिपक ढुङ्गाना, महिला सुशीला रेग्मी र जनजातिमा धनबहादुर ठाडा निर्वाचित हुनुभएको छ । समाबेशी रिक्त छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद् सदस्यमा यज्ञमूर्ति तिमिल्सिना, सीता डोटेल र राजेन्द्र लिगल निर्विरोध निर्वाचित हुनुभएको छ। यसैगरी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल, दीपक भट्टराई, सिर्जना घिमिरे र इमानसिंह राना निर्वाचित हुनुभएको छ ।