अन्धकारमुक्ति साकोसको साधारण सभा उद्घाटन, ४ वटै सेवा केन्द्रमा शनिबार सभा चल्ने
निर्णय प्रमाणित सहितको साधारण सभा हुदै
पाल्पा ।
पाल्पाको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरले २६ औं बार्षिक साधारण सभा शुक्रबारदेखि शुरु गरेको छ ।
११ हजार बढी शेयर सदस्य रहेको सहकारीले ४ वटा सेवाकेन्द्रमा बार्षिक प्रगति प्रतिवेदन समिक्षा कार्यक्रम गरेर निर्णय प्रमाणित सहितको साधारण सभा गरि यस बर्षको बार्षिक साधारण सभा गर्ने जनाएको छ । शुक्रबार संस्थाको केन्द्रिय कार्यालयमा उद्घाटन गरि शुरु भएको साधारण सभा शनिवार ४ वटै सेवाकेन्द्रमा प्रतिनिधि सहित शेयर सदस्यको साधारण सभामा सल्लाह, सुझाब लिने प्रगति प्रतिबेदन राख्ने र आगामी मंसिर २१ गते शुक्रबार केन्द्रिय कार्यालयको हलमा हुने निर्णय प्रमाणित सहितको साधारण सभाले प्रमाणित गरि बार्षिक साधारण सभा सकिनेछ ।

पाल्पा जिल्लाभर कार्य क्षेत्र रहेको यस संस्थामा बिशेष गरि रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पुर्वखोला गाउँपालिका शेयर सदस्य आबद्ध यस सहकारी संस्था पाल्पा जिल्लाको मात्र नभई लम्बिनी प्रदेशमा नै अग्रणी स्थानमा छ ।
बि.स.२०५५ सालमा २८ जना व्यक्तिमाझ खेतको आली चौतारी हुदै मासिक १५ रुपँया संकलित गरि स्थापित यस सहकारीमा हाल ११ हजार १४ जना शेयर सदस्य रहनुभएको छ । १ अर्ब ५७ करोड ८३ लाख ८९ हजार ६६ रुपँया कुल कारोबार रहेको यस सहकारी जिल्ला, प्रदेश र सहकारी संस्थाहरुको संस्था नेस्फ्कुनबाट समेत सम्मानित तथा पुरस्कृत भईसकेको छ । एनएफआरएस लेखा प्रणाली अनुसार लेखा परिक्षण गर्दै आएको यस सहकारीले यस बर्ष ४ करोड ७० लाख २३ हजार ७१६ रुपँया खुद बचत गर्न सफल भएको छ ।
सहकारी संस्थाको बार्षिक साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दोबराज तिवारीले सहकारीमाथि दोषारोपण भइरहेको अबस्थामा स्थानीय र सानो पुजीमा बढी लगानी भएकोेले यो सहकारी स्थानीयको आफ्नो सहकारी भएको उल्लेख गर्दै त्यस्तो समस्या नआउने बताउनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष मोहन प्रसाद भट्टराईले दैनिक ५० पैसा संकलन गर्ने ध्येयले शुरु गरेको संस्था जिल्लाकै उत्कृष्ट शेयर सदस्य र लगानीका रुपमा विकसित हुनु नै गौरबको बिषय रहेको बताउनुभयो । संस्थाका सल्लाहाकार शुकदेव पोखरेलले सहकारीको विकास र भावना अनुरुप सबै जागेको बताउनुभयो । सल्लाहाकार नेत्र प्रसाद भट्टराईले सहकारीले बचत, लगानी सँगै समस्यामा परेकाहरुलाई सहयोग र सामाजिक कार्य गर्दै आएको बताउनुभयो । त्यस्तै लेखा सुपरिबेक्षण समितिका संयोजक बिष्णु प्रसाद लम्सालले आर्थिक विकास र शेयर सदस्यमा लगानी नियमित बचत र विविध कार्यक्रम र योजना ल्याउन सफल भएको बताउनुभयो

यस सहकारीले जेष्ठ शेयर सदस्यलाई मासिक ५ सय रुपँया भक्ता बितरण गर्दै आएको छ । यसका लागि सदस्यता लिएर १० बर्ष पुगेको सदस्य हुनुपर्नेछ । हाल १ सय २८ सदस्यले यस्तो सुविधा लिनुभएको छ । जुन ७० बर्ष उमेर पुग्नुभएका जेष्ठताको अबस्थामा नियमित खानपान र औषधी उपचारमा सहज भएको छ । बालबचत अन्तर्गत बच्चा जन्मेको बालबालिकाको नाममा सहकारीले १ हजार बालबालिकाको सुरक्षित भबिष्यका लागि बचत गरिदिनेछ भने यस्तो अभिभावकले कम्तिमा नियमित मासिक १०० बचत गर्नुपर्नेछ । युुवा स्वरोजगार अन्तर्गत गतबर्ष १० जना युवालाई रामपुर नगरपालिका सँगको समन्वयमा युवा स्वरोजगार अन्तर्गतको १५ लाख व्याज अनुदान प्राप्त भएको थियो र निरन्तर प्रक्रियामा छ । अन्धकारमुक्तिको उज्यालो कार्यक्रम अन्तर्गत निस्दी गाउँपालिकाको ३०० घरपरिवारमा सुलभ व्याजदरमा क्रृण प्रवाह गरि सोलार जडान गर्न सहयोग गरेको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्वको विविध कार्यक्रम, सदस्य सम्मान, उत्कृष्ट बचत, लगानीकर्ता, क्रण प्रवाहकर्ता, कारोबार, धेरै शेयर खरिद, नमुना तथा उत्कृष्ट उद्यम सहित एसईई उत्तिर्ण परिवारका सदस्यमा समेत सम्मान पुरस्कृत गर्दै आएको छ ।
जीवनभर सहकारीलाई उत्कृष्ठ गराउन तल्लिन शेयर सदस्यको निधनमा प्रति सदस्य ६ हजार परिवारलाई दिन्छ भने त्यस्तो दुःखद परिवारका अन्य सदस्यलाई प्रतिसदस्य २ हजार सहयोग गर्दै आएको छ ।

नेफ्स्कूनद्धारा लुम्बिनी प्रदेशमा उत्कृष्ठ घोषित अन्धकारमुक्ति बचत तथा क्रृण सहकारीले आगामी मंसिर २१ गते शुक्रबार सञ्चालक समितिको संख्याले ३ गुणा भन्दा बढी नहुने गरि सहकारी विभागले जारी गरेको व्यवस्था अनुरुपको संख्याको उपस्थितिमा निर्णय प्रमाणित सहितको साधारण सभा गरिने सहकारीका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो । यसअघि सहकारीले शनिवार ताहुँ सेवा केन्द्र, जब्गादी सेवा केन्द्र, रामटार सेवा केन्द्र र ढुुंगानाबेशी सेवा केन्द्रमा ईकाईगत साधराण सभा गर्दैछ ।
सहकारी संस्थाका अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने र सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नुभएको थियो ।


