प्यागोडा शैलीको स्वर्गद्वारी मन्दिर पूनः निर्माण शुरु
प्यागोडा शैलीको बास्तुकला प्रयोग भएको लुम्बिनी प्रदेशको धार्मिक गन्तव्य स्वर्गद्वारी मन्दिरको पूनः निर्माण थालिएको छ ।
स्वर्गद्वारी आश्रमका संस्थापक हंशानन्द गिरी अर्थात स्वर्गद्वारी महाप्रभुको समाधिस्थलमा सो मन्दिर निर्माण गर्न थालिएको हो । स्वर्गद्वारी आश्रमको लगानीमा आश्रम परिसरमा रहेको पुरानो मन्दिर भएको स्थानमा नयाँ मन्दिरको स्थापना गर्न थालिएको आश्रमका मुख्य कोठरी तामु प्रसाद न्यौपानेले जानकारी दिनुभयो । निर्माणका लागि सोमबार भूमि पूजा गरी शिलान्यास गरिएको छ।
प्यागोडा शैलीमा निर्माण भएको पशुपतिनाथको मन्दिरको शैलीमा मन्दिरको निर्माण हुनेछ । जसका लागि डिपिआरको काम भइरहेकोमा करिब १२ देखि १५ करोडको लागत अनुमान गरिएको न्यौपानेले बताउनुभयो । ‘केही डिजाइनहरू आएका छन् सोही अनुसार निर्माण थालेका हौं’ न्यौपानेले भन्नुुुभयो, ‘भक्तपुरे इट्टा, सुर्कि चुना, काठको पिल्लरको मात्रै प्रयोग हुनेछ ।’ एक वर्ष भित्र निर्माण सक्ने गरी मिस्त्रिहरू तयार गरिएको छ ।
मन्दिर निर्माणका लागि आन्तरिक श्रोत तथा दाताहरू खोजिएको छ । १ लाख २५ हजार भन्दा बढी दान दिनेहरूको नाम शिलालेख लेख्ने, सो रकम भन्दा कम दिनेलाई रसिद दिने गरी भवन निर्माणार्थ सहयोग उठिरहेको छ । नेपाली प्यागोडाशैलीको मन्दिर, वास्तुकलाको सुन्दर नमुना, दुई तले छानो र चारैतर्फ मुख्य कलात्मक काष्ठद्वार, प्रत्येक टुंडाल र लकासीहरूमा भगवानका विभिन्न अवतार चित्राङ्कित काष्ठकलाको प्रयोग भएको मन्दिरको विशेषता हुनेछ । मन्दिरले स्वर्गद्वारीको महत्व थप बढ्ने विश्वास लिइएको न्यौपानेले बताउनुभयो ।